काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को टोखा नगर कमिटीले दोस्रो अधिवेशन सम्पन्न गरेको छ। टोखाको दैलो पार्टी प्यालेसमा मंगलबार आयोजित एक कार्यक्रमका बिच अपेन टोखाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो।
अपेन टोखाकी संस्थापक अध्यक्ष शारदा पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टोखा नगरपालिकाकी उपमेयर ज्ञानुमाया डङ्गोलको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै अपेनका केन्द्रीय अध्यक्ष बद्रि प्रसाद दाहाल, अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहरा, टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम सहित अपेनका विभिन्न स्थानीय तहका अध्यक्षहरू विशिष्ट अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अपेन टोखाका सदस्यहरू, अपेनका विभिन्न स्थानीय कमिटीका प्रतिनिधिहरू र अपेन टोखाका शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डङ्गोलले सानो संस्थाका रूपमा सुरु गरेर अपेनलाई यहाँसम्म पुर्याएकोमा अपेन नेतृत्वलाई धन्यवाद दिइन्। आफुपनि १५ वर्ष शिक्षण पेसामा संलग्न रहेको हुँदा यसका जटिलताहरू बारे जानकार रहेको भन्दै उनले बालबालिकाहरूको सिकाइको जग बसाल्ने काम गर्नेलाई सधैँ सम्मान गर्नुपर्ने बताइन्। त्यस्तै टोखा नगरपालिका अपेनसँग सहकार्य गर्न सधैँ तयार रहेको भन्दै उपयुक्त नीतिनिर्माणका लागि जनप्रतिनिधिहरूलाई खबरदारी गरिरहन पनि उनले आग्रह गरिन्।
अपेनका केन्द्रीय अध्यक्ष बद्रि प्रसाद दाहालले अपेन सम्पूर्ण मन्टेश्वरी प्रि-स्कुलहरूको साझा संगठन भएको भन्दै बालबालिकाहरूको चौतर्फी विकासका लागि संस्था प्रयासरत रहेको बताए। बालबालिकाहरू राज्यको भविष्य भएकाले उनीहरूको मनोविज्ञानमा सिप, संस्कार र प्रविधि सहितको ज्ञान भर्नतिर केन्द्रित हुनुपर्ने उनको भनाई थियो। सामूहिक खेल क्षेत्र निर्माण, कक्षा ३ सम्म निर्बाध चल्न पाउने वातावरणको निर्माण लगायतका प्रि-स्कुलहरूको साझा समस्यालाई सशक्त रूपमा उठाउन संस्था सक्षम हुनुपर्ने समेत उनले बताए ।
अपेनको टोखा नगर कमिटीको संस्थापक अध्यक्ष भएर आजको स्थानमा पुर्याई नेतृत्व हस्तान्तरण गरेकी निवर्तमान अध्यक्ष शारदा पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। सामूहिक प्रयासकै कारण पहिलो कार्यसमिति नै देशैभर बाट सर्वोत्कृष्ट अपेन कमिटी बन्न सफल भएको उनको भनाई थियो। पहिलो कार्यकालमै बालबालिकाको क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्न सफल भएकोमा सन्तोष व्यक्त गर्दै कोभिड लगायतका चुनौतीले पुरा गर्न बाँकी रहेका केही कार्ययोजनाहरु नयाँ कमिटीले पुरा गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।
अपेन टोखाकी नवनिर्वाचित अध्यक्ष उर्मिला त्रिपाठीले अधिवेशनमा उपस्थित सबैलाई धन्यवाद दिइन्। उनले अपेन टोखालाई सबैको आवाज समेट्ने साझा संस्था बनाउनेमा आफू केन्द्रित हुने भन्दै सामूहिक प्रयासबाट बालबालिकाका क्षेत्रमा उल्लेखनीय कामहरू गर्न र अगाडी आउने चुनौती सामना गर्न आफूहरू सक्षम हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले अपेन टोखालाई बधाई तथा शुभकामना दिँदै उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे ।
यस्तो छ आगामी ३ वर्षे कार्यकालका लागि अपेन टोखाले चयन गरेको सर्वसम्मत कमिटी:
-अध्यक्ष: उर्मिला त्रिपाठी
-वरिष्ठ: उपाध्यक्ष सङ्गीता दवाडी
-उपाध्यक्ष: नारायणी पन्त
-सचिव: कविता लोहनी
-सहसचिव: सर्मिला केसी
-कोशाध्यक्ष: सावित्री थपलिया
-सदस्य: युरल पाण्डे
-सदस्य: यमुना मानन्धर
-सदस्य: कमला घिमिरे
(तपाईँ उक्त कार्यक्रमको फोटोफिचर यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। )