काठमाडौँ- शिक्षक सेवा आयोगले आयोगको परीक्षाको तयारी गरिरहेका परीक्षार्थीका लागि महत्त्वपूर्ण सूचना जारी गरेको छ।
आयोगले परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीहरूलाई रोल नम्बर रुजु गरी यकिन हुन अनुरोध गरेको हो। रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिलेमा नयाँ प्रिन्ट गरी परीक्षामा ल्याउन पनि आयोगले सूचित गरेको छ।
मंगलबार आयोगले जारी गरेको सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगबाट मिति २०७८ मङ्सिर २९ गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षामा अनलाइन दरखास्त फाराम भर्ने उम्मेदवारहरूले दरखास्त दस्तुर बुझाई मिति २०७८ पौष १० गतेभित्र प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्नेहरूले पुनः एकचोटी आफ्नो दरखास्तका लागि खोलेको इमेल एकाउन्टमा गई त्यहाँ भएको प्रवेश पत्रमा उल्लेखित रोल नम्बर रुजु गरी यकिन गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिलेमा नयाँ प्रिन्ट गरी परीक्षामा आउँदा साथमा लिइ आउनु हुन समेत यसै सूचनाद्वारा सूचित गरिन्छ” ।
