Matra Education आइतबार, साउन १० २०८३

कहीँ नभाको जात्रा एनप्याब्सनमा, आलो पालो अध्यक्षता गर्ने गरी सहमति गरिँदै

कहीँ नभाको जात्रा एनप्याब्सनमा, आलो पालो अध्यक्षता गर्ने गरी सहमति गरिँदै

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन २३ २०७८


काठमाडौँ- नेपालीमा एउटा प्रचलित उखान छ ‘कहीँ नभाको जात्रा हाँडीगाउँमा’। यो उखानले हाँडीगाउँमा हुने फरक किसिमको जात्रालाई प्रतिनिधित्व गर्छ। त्यस्तै यसले त्यो ठाउँको फरक विशेषता पनि बोकेको छ। अब भने यो उखान थोरै परिमार्जन गरेर कहीँ नभाको जात्रा एनप्याब्सनमा भन्नुपर्ने अवस्था सिर्जना हुने भएको छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सातौँ राष्ट्रिय महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वमा माथिको उखान चरितार्थ हुने अवस्था सिर्जना भएपछि हामीले यी दुई विषय जोडेका हौँ। आइतबार बाँकेको नेपालगन्जमा सुरु भएको महाधिवेशनको यतिबेला बन्दसत्र चलिरहेको छ। नयाँ नेतृत्व चयन गर्ने उक्त बन्दसत्रमा अध्यक्षका आकाङ्क्षी दुवै उम्मेदवारले आ-आफ्नो दाबी कायमै राखेपछि आलोपालो चलाउने सहमति भएको बुझिएको छ।

स्रोतले मात्र एजुकेसनलाई दिएको जानकारी अनुसार अध्यक्षका दाबेदार पाण्डब हमालले पहिलो डेढ वर्ष र अर्का दाबेदार सुवास न्यौपानेले त्यसपछिको अवधि नेतृत्व लिनेगरी तयारी अघि बढेको छ। अन्य पदहरूमा सहमति हुन बाँकी रहेको भए पनि यति बेला महाधिवेशन हलमा नाराबाजी भइरहेको खबर प्राप्त भएको छ। अव्यवहारिक रूपमा संस्थाको नेतृत्व टुङ्गाउन खोजेको भन्दै असन्तुष्ट सदस्यहरूले नाराबाजी गरिरहेका छन्।

खासगरि निजी विद्यालयहरूको हक हितमा काम गर्न र सामूहिक एकतामार्फत उनीहरूको पेसागत वृत्ति विकास गर्दै प्रवर्द्धन गर्न खुलेको एनप्याब्सन जस्तो संस्थाको नेतृत्व आलोपालो हुने भन्नेमा यसका सदस्यहरू कन्भिन्स हुन सकेका छैनन्। यसरी आलोपालो अध्यक्ष बनाउँदा तत्कालका लागि विवाद समाधान हुने भए पनि आफ्नो कार्ययोजना अनुसार कुनै पनि अध्यक्षले कार्य सम्पादन गर्न नसक्ने निश्चित छ।

‘मात्र एजुकेसन’ सँगको कुराकानीमा एक सदस्यले नेतृत्वमा सहमति हुन नसक्दा सदस्यहरूले आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गर्दै नेतृत्व छान्ने अधिकार भए पनि संस्थाले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। ‘खोइ तपाईँलाई के भनौँ आफ्नो संस्थाको आफैँ बेइज्जत गरेजस्तो होला तर हामी नेपालगन्जसम्म आइपुगेर एउटा सशक्त नेतृत्व संस्थालाई दिन नसक्नु आफैँमा लाजमर्दो कुरा हो’। नाम उल्लेख नगर्ने सर्तमा उनी अगाडी भन्छन्, ‘म लगायतका धेरै साथीहरू काठमाडौँ फर्कने तयारी गर्दै छौँ। वास्तवमै यो किसिमको सहमतिमा हामी धेरै सदस्यको विमति रहेको छ’।

असल नेतृत्व छनोट गर्दै आफ्नो संस्थालाई बलियो बनाउन भन्दै नेपालगन्ज पुगेका एक हजार बढी प्रतिनिधिको साझा आवाज हो यो। सबै सदस्यले अपनत्व लिनसक्ने सर्वसहमत नेतृत्व वा प्रजातान्त्रिक पद्धतिबाट बहुमत सदस्यले रुचाएको नेतृत्व हुनुपर्नेमा सहमतिका नाममा अध्यक्ष पद भागबन्डा गरेको छाता सङ्गठन एनप्याब्सनलाई दुई पाइलटले आलोपालो कसरी गन्तव्य तिर लान्छन् र संस्थाको उद्देश्य पुरा गर्न कति सफल हुन्छन् त्यो भने भविष्यले नै देखाउनेछ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड