काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनका लागि वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
बुधवार राजधानीको याक एण्ड यति होटेलमा आयोजित एक कार्यक्रमका बिच न्यौपानेले उम्मेदवारी घोषणा गरेका हुन्। निजी तथा आवासीय विद्यालयको हक हितका लागि निरन्तर आवाज उठाउँदै आएका न्यौपानेले त्यो आवाजलाई अझै सशक्त र बुलन्द बनाउनका लागि नेतृत्वमा आउने चाहना सहित उम्मेदवारी दिएको बताएका छन्।
एनप्याब्सनका विभिन्न तहका पदाधिकारीहरू, सल्लाहकारहरू, पूर्व-अध्यक्षहरूको समेत उपस्थितिमा गरिएको उम्मेदवारी घोषणा कार्यक्रममा न्यौपानेले आफ्नो उम्मेदवारी किन भन्ने कुरा प्रस्ट पारेका थिए। १३ बुँदे उद्देश्य सहितको प्रेस विज्ञप्ति मार्फत उनले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन्।
कार्यक्रममा बोल्दै हालका महासचिव न्यौपानेले अग्रजहरूको निरन्तर प्रयास र नेतृत्वले एनप्याब्सन राष्ट्रिय सङ्गठन बनेको उल्लेख गरे। त्यो गरिमा कायम राख्न र संस्थाको उचाइ अझै माथि पुर्याउनका लागि आफूले उम्मेदवारी दिएको उनको दाबी थियो। विगत १९ वर्षदेखि निरन्तर सङ्गठनमा क्रियाशील रहेका न्यौपानेले आफू अध्यक्ष निर्वाचित भए ४ मुख्य कामहरू गर्ने बताए। उनको प्राथमिकतामा परेको पहिलो काम निजी विद्यालयहरूको हक हित संरक्षण हो। त्यस्तै दोस्रो उद्देश्यका रूपमा गुणस्तरीय शिक्षाको लक्ष्य उनले राखेका छन्। शिक्षक कर्मचारीलाई आफूले काम गरेको संस्थामा सुरक्षित महसुस गराउँदै परम्परागत छोडेर समयसापेक्ष शिक्षा प्रदान गर्ने उनको तेस्रो उद्देश्य हो भने सामाजिक उत्तरदायित्व पुरा गर्नेलाई उनले आफ्नो चौथो प्राथमिकता बनाएका छन्।
कार्यक्रममा पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै न्यौपानेले अध्यक्षको मात्रै उम्मेदवारी घोषणा गरिएको कारणबारे पनि प्रस्ट पारेका थिए। देशभरबाट समानुपातिक प्रतिनिधित्व गरेर एउटा सबल टिम बनाउने उद्देश्य भएकाले आपसी छलफल बाट उपयुक्त पात्रहरू अधिवेशन हलसम्म पुग्दा छनोट गरिने उनको भनाइ थियो। महासचिवको रूपमा संस्थालाई बलियो बनाउन के भूमिका खेल्नुभयो र अध्यक्ष भएपछि के गर्नुहुन्छ भन्ने मात्र एजुकेसनको प्रश्नमा उनले वर्तमान कार्यसमितिमा रहेर पनि थुप्रै कामहरू गरेको उल्लेख गरे। निजी शैक्षिक संस्थालाई सामाजिक गुठीमा परिवर्तन गर्ने लज्जास्पद कदमको विरोध गरेको, कोभिडको समयमा समस्यामा परेका शैक्षिक संस्था, शिक्षक कर्मचारी लगायतलाई सहयोग गरेको र शिक्षा सम्बन्धी अन्य विभिन्न विषयमा पैरवी गर्न आफूहरू सफल भएको उनको भनाइ थियो।
अझै पनि शिक्षा क्षेत्रमा चुनौतीको पहाड रहेको र निजी शैक्षिक संस्थाहरूलाई एकजुट बनाउँदै ती समस्या चिर्न लागिपर्ने आफ्नो योजना रहेको समेत उनले बताए। छात्रवृत्तिमा राज्यको विभेदकारी सोच, निजीलाई सामुदायिक विद्यालयको विकासको बाधकको रूपमा हेर्ने दोषी नजर लगायतका थुप्रै मुद्धाहरुमा काम गर्न बाँकी रहेको उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै एनप्याब्सनका प्रमुख सल्लाहकार तथा पुर्वअध्यक्ष कर्णबहादुर शाही, उपाध्यक्ष कैलाश कार्की, कोषाध्यक्ष प्रकाश थापा लगायतका वक्ताहरूले सकेसम्म सर्वसहमत नेतृत्व चयन गर्न सुझाव दिए। यदि त्यसो हुन नसके लामो समयदेखिको अनुभवी र क्रियाशील उम्मेदवार न्यौपानेलाई नै सबैले नेतृत्व सुम्पने विश्वास व्यक्त गर्दै उनीहरूले अग्रिम बधाई दिए। साथै पुर्वअध्यक्ष शाहीले नेतृत्व जन्माउन सकेको हुँदा त्यस अर्थमा आफ्नो कार्यकाल सफल रहेको भन्दै आउने नेतृत्वले पनि आफूभन्दा पछिको नेतृत्व तयार पार्ने तर्फ ध्यान दिनुपर्ने बताए।
एनप्याब्सनको सातौँ राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगन्जमा यही फागुन २२-२३ गते सम्पन्न हुँदै छ।
यस्तो छ न्यौपानेको प्रेस विज्ञप्ति:



तपाईँ यहाँ क्लिक गरेर भिडियो पनि हेर्न सक्नुहुन्छ ।