काठमाडौँ- शिक्षक सेवा आयोगले आफूले लिने परीक्षामा विवादास्पद, बहुअर्थ लाग्ने र अस्पष्ट प्रश्न सोध्न नमिल्ने बनाएको छ।
आयोगको प्रतियोगितात्मक परीक्षालाई स्वतन्त्र, निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि बनाएको आयोगले सोही कार्यविधि मार्फत उक्त व्यवस्था गरेको हो। हिजो सोमबार देखि कार्यविधि कार्यान्वयनमा ल्याइएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले विगतमा भएको कार्यविधि खारेज गरेर नयाँ कार्यविधि ल्याइएको जानकारी दिए। नयाँ कार्यविधि समय सापेक्ष भएको उनको भनाइ छ।
कार्यविधिमा पाठ्यक्रमसम्बन्धी, कार्यतालिका तथा पद सङ्ख्यासम्बन्धी, विज्ञापन प्रकाशन तथा दरखास्त फाराम छानबिन र स्वीकृतिसम्बन्धी, उम्मेदवारको सत्यापन सम्बन्धी लगायतका व्यवस्था गरिएको छ ।
कार्यविधिमा परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी वा दुवै हुने भनिएको छ । आयोगबाट लिइने परीक्षा शिक्षा विकास निर्देशनालय वा शिक्षा विकास तथा समन्वय एकाइमार्फत सञ्चालन गरिनेछ ।
तपाईँ उक्त कार्यविधिको पूर्णपाठ यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ