काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवा सुविधाको प्रबन्ध मिलाइने बताएका छन्।
बाग्लुङ्गको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले सेवा सुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने प्रतिबद्धता समेत जाहेर गरेका छन्।
यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको र आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा लानका लागि अर्थ मन्त्रालय र अरू निकायसँग पनि समन्वय भइरहेको पौडेलको भनाइ थियो। कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलको आशय थियो।
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्री पौडेलले आफ्नो कार्यकालमा १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइनु ठुलो उपलब्धि भएको बताए।
त्यस्तै शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन मन्त्रिपरिषद्बाट स्वीकृत गराएर शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्र लगायत कामले गति लिनुलाई उनले आफ्ना अन्य उपलब्धिका रूपमा प्रस्तुत गरे।
मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको पनि उल्लेख गरे । त्यस्तै विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ थियो ।