काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७८ साल माघ २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षार्थीहरूको परीक्षाफल बोर्डको माघ २१ गतेको निर्णयअनुसार प्रकाशित गरेको हो ।
सो परीक्षामा ४२ हजार ४७ जना विद्यार्थी सहभागी रहेका थिए । सो परीक्षामा सम्मिलित परीक्षार्थीहरू मध्ये चार जना विद्यार्थीको सम्पूर्ण परीक्षा बोर्डले रद्द गरेको छ । रोलनम्बर ९३१००४४३, ९३१००८२५, ९६९०००६५, र ९७१००९२४ भएका विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द गरेको बोर्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नतिजा हेर्नको लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट प्रयोग गर्न सकिन्छ भने नेपाल टेलिकमको एसएमएस सुविधामा एनइबि टाइप गरेर एक स्पेस दिने अनि सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाएर हेर्न सकिन्छ । त्यस्तै नेपाल टेलिकमको आइभिआर सेवा मार्फत १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।
परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि २०७७ सालमा विद्यालयद्वारा सञ्चालित कक्षा ११ को परीक्षामा सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ सी ग्रेड प्राप्त गरेको ग्रेडसिटको प्रमाणित प्रति अनिवार्य रूपमा संलग्न गर्नुपर्ने छ।
परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले प्रति विषय रु ५०० का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट-मार्कसिट वा वेबसाइटबाट डाउनलोड गरेको ग्रेडसिट-मार्कसिट संलग्न गरी परीक्षाफल प्रकाशन भएको मितिले १५ दिन भित्र बोर्डको सम्बन्धित कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
पूरक परीक्षामा सहभागी भई तोकिएको न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले २०७९ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा ग्रेड वृद्धि परीक्षार्थीको रूपमा सहभागी हुन चाहेमा माघ मसान्तभित्र विलम्ब शुल्करहित सो समयभित्र दाखिला गर्न नसकेमा २०७८ फागुन ५ गतेभित्र विलम्ब शुल्कसहित परीक्षा आवेदन बापत रकम दाखिला गरी फागुन ७ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउन सकिने बोर्डले व्यवस्था गरेको छ।