काठमाडौँ- कोरोना सङ्क्रमणका कारण बन्द रहेका देशभरका विद्यालय सञ्चालन गर्ने बारे निर्णय लिने जिम्मा सिसिएमसीले पाएको छ।
शुक्रवार दिउँसो विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । स्थानीय तहहरूले आफूखुसी धमाधम विद्यालय सञ्चालन गर्ने निर्णय लिन थालेपछि सरकार छलफलमा जुटेको थियो।
बैठकमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, सङ्घीय मामिलाका सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु उपयुक्त हुने निष्कर्ष निकालिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । उनका अनुसार यसको जिम्मा डिसिएमसी र स्थानीय तहलाई दिनुपर्ने लगायत विषयमा छलफल भएको थियो । यसको थप निर्णय भने सिसिएमसीको बैठकले लिने उनको भनाइ छ।
उनका अनुसार आगामी आइतबार सिसिएमसी बैठक बस्ने छ । कोरोना संक्रमणदर फेरि बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। जोखिम कायमै भएपछि बिदा लम्ब्याएर माघ मसान्तसम्म पुर्याएको छ ।
आइतबार बस्ने सिसिएमसीको बैठकले यो विषयमा ठोस निर्णय लिने बताइएको छ।