काठमाडौँ- राजधानीको गोकर्णेश्वर नगरपालिकाले हिजो मात्रै आउँदो आइतबार देखि भौतिक उपस्थितिमै विद्यालय खोल्ने निर्णय गरेको थियो।
अघिल्लो पटक पनि भौतिक उपस्थितिमा पहिलो चोटि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उक्त नगरपालिकाले यसपटक पनि अग्र स्थानमा रहँदै यो निर्णय गरेको हो। नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार विद्यालय खोल्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
त्यसैगरी बारा जिल्लाको सुवर्ण गाउँपालिकाले पनि २१ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भौतिक दुरी कायम गरी नियमित रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकामा कोभिड सङ्क्रमितको सङ्ख्या नभएकोले विद्यालय खोल्ने गाउँ शिक्षा समितिले निर्णय गरेको जनाएको छ ।
बागलुङको गल्कोट नगरपालिकाले २३ गतेदेखि विद्यालय सञ्चालन गर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई अनुमति दिएको छ । पौष २७ गतेदेखि माघ २० गतेसम्मलाई मात्र विद्यालयहरूको पठनपाठन कार्य बन्द गर्न भनिएको भन्दै सिकाइ सहजीकरण निर्देशिका २०७७ बुँदा नंं. ३.२ मा उल्लेख भए अनुसार २३ गतेदेखि विद्यालय भौतिक रूपमा खोल्ने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराई स्वीकृत भएको कार्ययोजना नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रूपमा पठाउन निर्देशन दिएको छ । साथै कोभिडको सङ्क्रमण फैलिई असहज परिस्थिति सृजना भएका सम्बन्धित वडासँग समन्वय गरी तत्काल पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।
नेपाल सरकारको गृह मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेको भन्दै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। सबैलाई एउटै रूपमा निर्णय लादेको भन्दै स्थानीय तहहरू असन्तुष्ट छन्। त्यसैले उनीहरू आफूखुसी धमाधम सञ्चालन गर्ने निर्णय गरिरहेका छन्।
स्थानीय तहको यो कदम पछि सङ्घीय सरकारले समेत यो विषयमा तत्काल निर्णय गर्नका लागि छलफल थालेको छ। शुक्रवार दिउँसो एक बजेपछि विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल सुरु भएको हो। आजको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।