काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोभिड सङ्क्रमणका कारण स्थगित गरिएका परीक्षा पुनः सञ्चालन गर्ने तयारी गरेको छ। परीक्षा मिति नजिकिएका र सुरु भइसकेका परीक्षा पनि सङ्क्रमण बढेका कारण रोकिएका थिए।
सङ्क्रमणको दर कम हुँदै गएमा फागुन महिना भित्र परीक्षा सक्ने लक्ष्य विश्वविद्यालयको छ। त्यसो त यस बिचमा विद्यार्थीलाई खोप लगाउने काम पनि सरकारले गरेको छ भने विश्वविद्यालय सँग स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा गर्ने विकल्प पनि छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडका कारण स्थगित भएका पूर्व निर्धारित परीक्षा सञ्चलनका लागि छलफल भइरहेको जानकारी दिए । उनले २० गते भित्रमा परीक्षा सञ्चालनको सूचना जारी गरिने बताए ।
विश्वविद्यालयले कोभिड १९ को तीव्र सङ्क्रमणका करण अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत सङ्क्रमण भएका कारण सम्पूर्ण परीक्षाहरू सूचना जारी गरी स्थगित गरेको थियो । विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू माग ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।