Matra Education आइतबार, साउन १० २०८३

बारबर्दिया नगरपालिका: शिक्षामा ठुला योजना, इसिडि शिक्षकलाई छैन तलब

बारबर्दिया नगरपालिका: शिक्षामा ठुला योजना, इसिडि शिक्षकलाई छैन तलब

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ १४ २०७८


काठमाडौं- बर्दियाको बारबर्दिया नगरपालिकाले गत पुस २२ गते आगामी १० वर्षका लागि आफ्नो शिक्षा योजना सार्वजनिक गर्‍यो ।

नयाँ संविधान जारी भएपछि शिक्षाको अधिकार स्थानीय तह मातहत आएसँगै यो नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि गरिरहेको प्रयासमध्ये एक हो यो ।

२०७८ देखि २०८८ सालसम्मको योजना बनाउँदै नगरपालिकाले त्यसको अनुमानित बजेट र त्यसले दिने उपलब्धीको अनुमान सार्वजनिक गरेको छ । नगरपालिकाले हाल एक वर्षको हुँदै आएको बालविकास र बाल शिक्षाको अवधि दुई वर्ष बनाउने प्रस्ताव गरेको छ ।

त्यस्तै शिक्षकहरु राजनीतिक दलको सदस्य हुन नपाउने, बालबालिका र शिक्षण पेसाप्रति रुचि भएका व्यक्रिहरु शिक्षण पेशामा आउन सक्ने गरी शिक्षक छनोट पाठ्यक्रम परिमार्जनको लागि पहल गर्ने, शिक्षक विद्यार्थीको अनुपात ३० जनाभन्दा बढी हुन नहुने नगरपालिकाको प्रस्ताव छ ।

नगरपालिकाले दिवा खाजा विस्तार गर्दै कक्षा ८ सम्म पुर्‍याउने पनि योजना बनाएको छ । त्यसका लागि आगामी पाँच वर्षका लागि शिक्षामा दुई अर्ब ३३ करोड ६५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । त्यसमा संघीय सरकारबाट ६४ प्रतिशत र प्रदेश सरकारबाट १२ प्रतिशत बजेट प्राप्त हुने आशा राखेको छ ।

त्यस्तै कक्षा १,२,३ र ६ मा बारबर्दिया गौरव नामको स्थानीय पाठ्यक्रम समावेश गर्ने नगरपालिकाको तयारी छ । यो विषयमा नगरपालिकाभित्र बस्ने समुदायको धर्म, संस्कार, संस्कृति, परम्परा, नगरपालिकाभित्र पर्ने महत्वपूर्ण ताल तलैया, सम्पदा लगायको विषय समेटिएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए ।

उनले भने ‘विद्यार्थीमा पाठ्यक्रमको ज्ञानसँगै अनुशासन, मौलिक संस्कृति र पहिचान सम्बन्धी ज्ञान हुन जरुरी छ । आफु हुर्केको स्थानको महत्व बुझ्न जरुरी छ । बारबर्दिया गौरवले यी कुराहरु सिकाउँछ ।’

नगरपालिकाले शिक्षक डायरी तयार गरी कक्षाकोठामा जानुअघि विषयगत कार्य योजना बनाउनुपर्ने नियम बनाएको छ । डायरीमा शिक्षकले गर्नुपर्ने विद्यार्थीको तहगत मूल्यांकन, आन्तरिक र आवधि मूल्यांकन, कार्ययोजना लगायतका विषय समेटिएको छ ।

नगरपालिकाले २०८७ सम्म तीनवटै तहका सरकारको संयुक्त लगानीमा बारबर्दिया नगरपालिकाको समग्र शिक्षा क्षेत्रमा स्रोतको दिगो व्यवस्थापन भई शैक्षिक पहुँच, समता, गुणस्तर र क्षमता विकासमा उल्लेख्य प्रगति हुने लक्ष्य राखेको छ ।

नगरभित्र ५७ ओटा विद्यालयमध्ये ४२ ओटा सामुदायिक र १५ वटा संस्थागत विद्यालय छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ३२.१० प्रतिशत शिक्षामा छुट्याएको छ । यसअघि आर्थिक वर्ष २०७५/७६ मा २५.१३ प्रतिशत, २०७६/७७ मा २८.११ प्रतिशत, २०७७/७८ मा ३३.४८ प्रतिशत बजेट छुट्याएको थियो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंका अनुसार बारबर्दियाको शैक्षिक सत्र २०७५ देखि २०७७ सम्मको विश्लेषण गर्दा शैक्षिक उपलब्धि बढ्दो क्रममा रहेको छ ।

यो नगरपालिका २०७५ साल असार २८ गते अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणा भइसकेको छ । सबै विद्यालयहरुमा सम्बन्धित तहको स्थायी शिक्षकलाई नै प्रधानाध्यापकको रुपमा नियुक्त गरिएको छ । प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा विषयगत ११७ दरबन्दी सिर्जना गरी नगरपालिकाबाट शिक्षक पूर्ति गरिएको छ । त्यस्तै सबै बालविकासका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

बालविकास सहजकर्तालाई छैन न्युनतम तलब

नगरपालिकाले शिक्षा क्षेत्रमा नमुना कार्यक्रम कार्यान्वयन र महत्वाकांक्षी योजना बनाइरहँदा बालविकास सहजकर्ताको लागि सरकारले तोकेको न्यूनतम पारिश्रामिक भने दिएको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा बालबिकास सहजकर्तालाई १५ हजार रुपैयाँ तलब तोकेको थियो । जसमध्ये ८ हजार केन्द्र सरकार र ७ हजार स्थानीय सरकारले दिने बजेट वक्तव्यमा उल्लेख थियो । तर बारबर्दियाका बालविकास सहजकर्ताले स्थानीय सरकारबाट पाउनुपर्ने पारिश्रमिक दिएको छैन । नगर प्रमुख थारु भने यो समस्या समाधान भइसकेको दाबी गर्छन् ।

‘समस्याको समाधान भइसकेको छ । केही प्राविधिक समस्याका कारण रोकिएको थियो । अब माघबाट दिन्छौं । र अगाडि रोकिएको तलब पनि उहाँहरुले पाउनुहुन्छ’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड