काठमाडौँ- मात्र एजुकेसन ले केही समय अघि ९ महिनामा बच्चा जन्मिन्छ, त्रिविको रिजल्ट जन्मिएन शीर्षकको समाचार प्रकाशित गरेको थियो। ९ महिना बढी बितिसक्दा पनि बिएड र बिबिएस तेस्रो वर्षको नतिजा त्रिविले दिन नसकेको विषयमा त्यो समाचार लेखिएको थियो। त्यसको केही समयपछि बिएड तेस्रो वर्षको नतिजा सार्वजनिक भएपनि बिबिएसको हुन सकेन। हामीले पुनः अघिल्लो तहको नतिजा हेर्न नपाउँदै अर्को तहको परीक्षा सुरु शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ। मिडिया, विद्यार्थी लगायत अन्य सम्बद्ध पक्षले यो विषय उठाएपछि मंगलबार शिक्षामन्त्री देवेन्द्र पौडेल आफैँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय पुगेका छन्।
उनले त्यहाँ पुगेर नतिजा प्रकाशनमा भइरहेको ढिलासुस्ती बारे प्रश्न गर्नुका साथै तत्काल तिन महिना भित्र नतिजा प्रकाशित हुने वातावरण मिलाउन निर्देशन दिएका छन्। त्रिविका सहकुलपति समेत रहेका पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।
‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्र्याकबाट नतिजा निकाल्नुस्।’
सामान्यतया परीक्षा भएको ३ महिनाभित्र नतिजा निकाल्ने विश्वविद्यालयकै नियम भएपनि १० महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए ।
‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवा ग्राहीको काम हुनपर्यो’ मन्त्रीले भने।
‘विद्यार्थीहरुको मानविकी सङ्कायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन। गुनासो कम आउने गरी काम गर्नुहोस्।’
सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए ।
उनले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे।