Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले उठायो करोडौँ राजस्व

शिक्षक सेवा आयोगले उठायो करोडौँ राजस्व

  • मात्र एजुकेशन
  • सोमबार, माघ ३ २०७८


काठमाडौँ-  शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि आवेदन दिएका उम्मेदवारबाट ११ करोड २२ लाख ३२ हजार छ सय रुपियाँ राजस्व उठाएको छ । यो हालसम्मको तथ्याङ्क हो। अझै केही दिन फारम भर्ने म्याद बाँकी छ।

आयोगका अनुसार माध्यमिक तहमा ३५ हजार ९५७ जनाले आवेदन दिएका छन् । उनीहरूबाट तीन करोड ५९ लाख ५७ हजार उठिसकेको छ । माध्यमिक तहमा आवेदन भर्ने म्याद माघ १ गते सकिए पनि दोब्बर दस्तुर बुझाएर माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै निम्न माध्यमिक तहको शिक्षक पदका लागि हालसम्म ६३ हजार ३८ जनाले आवेदन फाराम बुझाएका छन् । उनीहरूबाट चार करोड ४१ लाख २६ हजार छ सय रुपियाँ उठेको छ । निमावि तहमा माघ ६ गतेसम्म आवेदन भर्ने म्याद तोकिए पनि दोब्बर दस्तुर बुझाउनेहरूले माघ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोगका अनुसार प्राथमिक तहको शिक्षक पदका लागि हालसम्म ६४ हजार २९८ जनाले आवेदन दिएका छन् । उनीहरूबाट तीन करोड २१ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । प्राथमिक तहमा माघ १३ गतेसम्म आवेदन भर्न पाउने भए पनि दोब्बर दस्तुर बुझाएर माघ २० गतेसम्म आवेदन फाराम बुझाउन सकिनेछ ।

यसअघि माध्यमिक तहमा करिब ६० हजार जनाको, निम्न माध्यमिक तहमा करिब ८० हजार जनाको र प्राथमिक तहमा करिब एक लाख १५ हजार जनाको आवेदन परेको थियो ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले विगतमा एकै व्यक्तिले धेरै प्रदेश वा क्षेत्रबाट फाराम भर्ने गरेको बताउँदै भने, “यस पटकबाट एक व्यक्ति एक प्रदेशको व्यवस्था भएकाले पनि तुलनात्मक रूपमा कम व्यक्तिले फाराम भरेको हुनसक्छ । हुन त फारम बुझाउने म्याद अझै केही दिन बाँकी छ ।” आवेदन दस्तुरका लागि माध्यमिक तहमा एक हजार रुपियाँ, निम्न माध्यमिक तहमा सात सय रुपियाँ र प्राथमिक तहमा पाँच सय रुपियाँ कायम गरिएको छ । यस पटक अनलाइन माध्यमबाट फाराम भर्न सकिने व्यवस्था थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड