Matra Education आइतबार, साउन १० २०८३

सबै परीक्षा अनिश्चित हुँदा के हुन्छ शिक्षक सेवा आयोगको परीक्षा?

सबै परीक्षा अनिश्चित हुँदा के हुन्छ शिक्षक सेवा आयोगको परीक्षा?

  • मात्र एजुकेशन
  • सोमबार, माघ ३ २०७८


काठमाडौँ- कोरोनाको ओमिक्रोन तेस्रो भेरीयन्टका कारण पुनः जनजीवन प्रभावित हुने देखिएको छ। पछिल्लो समय भारत हुँदै नेपालमा पनि तीव्र गतिमा सङ्क्रमण फैलिए सँगै नेपाल सरकारले स्मार्ट लकडाउनको घोषणा गरेको छ। २०१९ देखि जसरी विश्व आक्रान्त बन्यो त्यसरी नै यो तेस्रो भेरीयन्टले पनि समस्या पार्ने देखिएको छ। नेपाल सरकारले माघ १५ सम्म माध्यमिक तहसम्मको विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने त्यो भन्दा माथिल्लो तहका कक्षाहरू समेत वैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन दिइसकेको छ। यसरी समग्र शैक्षिक क्षेत्र प्रभावित बन्ने देखिँदा धमाधम फारम भर्ने काम भइरहेको शिक्षक सेवा आयोगको परीक्षा के हुन्छ भन्ने जिज्ञासा यस सँग सम्बन्धित सबैको छ।

त्यसो त शिक्षक सेवा आयोग खुलेको लामो समय भएको छैन। केही वर्ष पदाधिकारीविहीन बनेको आयोगले पदाधिकारी पाएपछि पनि राम्रो काम गर्न पाएन। विभिन्न नीतिगत समस्यामा अल्झेको आयोगलाई करिब ७० दिन भन्दा बढी त शिक्षा मन्त्रीको अभावले अल्झायो। मन्त्री नियुक्त भएको लामो समयपछि शिक्षक सेवा आयोग नियमावली संशोधन भयो अनि मात्रै आयोगलाई काम गर्ने बाटो खुल्यो। यस बिचमा आयोगले रिक्त दरबन्दी विवरण प्राप्त गर्ने, वार्षिक कार्ययोजना बनाउने, पाठ्यक्रम निर्माण तथा अद्यावधिक गर्ने आदि काम भने जारी राख्यो। कार्यतालिका सार्वजनिक भएपछि उत्साहित बनेका आयोग तयारी गर्नेहरू हाल दुबिधामा परेका छन्।

आयोगको कार्यतालिकामा उल्लेख भए अनुसार उसले सबैभन्दा पहिले माध्यमिक तहको खुला विज्ञापन गर्‍यो। मङ्सिर महिनामै गर्ने योजना अनुसार महिनाको अन्तिम तिर २९ गते माध्यमिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन भएको हो । माविको विज्ञापनमा पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माग ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने गरी खोलिए पनि पछि आयोगले फारम भर्ने म्याद र दरबन्दी सङ्ख्या दुवैमा केही संशोधन गर्‍यो । त्यस्तै यो तहको परीक्षा चैत्र १५ गते सञ्चालन गर्ने तयारी आयोगको छ ।

त्यसको केही दिन पछि पुस ७ गते बुधबार आयोगले निम्न माध्यमिक तहको विज्ञापन गर्‍यो। उक्त तहमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन भएको थियो । पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भराउने र चैत्र १७ गते परीक्षा सञ्चालन हुने गरी यो तहको विज्ञापन खुलेको थियो।

पहिलो चोटि म्यानुअल छोडेर अनलाइन प्रणालीमा फारम बुझेको आयोगले सिस्टममा समस्या नआओस् भन्ने उद्देश्यले पटक पटक गरेर विज्ञापन खोल्यो। निम्न माध्यमिक तहको विज्ञापन खुलेको १ हप्ता पछि आयोगले प्राथमिक तहको पनि विज्ञापन खोलेको थियो। उक्त तहमा १३०९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन भएको हो । माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने गरी खुलेको प्राथमिक तहको परीक्षा चैत्र १९ गते गर्ने आयोगको तयारी छ।

के हुन्छ आयोगको परीक्षा ?
फारम भर्ने क्रम जारी रहँदा नै कोरोनाको प्रकोप डरलाग्दो रूपमा बढिरहेको र राज्यले समेत सजगता अपनाउन आग्रह गरिसकेको अवस्थामा शिक्षक सेवा आयोगको परीक्षा के हुन्छ भन्ने जिज्ञासा रहनु स्वाभाविक नै हो। शैक्षिक संस्था मात्रै नभई भिडभाड हुने सबै ठाउँ राज्यले निषेध गरेको अवस्थामा सङ्क्रमण दर कम नभए परीक्षा नियमित समयमा सञ्चालन नहुने धेरैको बुझाइ छ। मात्र एजुकेसनले यो प्रश्न सम्बन्धित परीक्षार्थीका तर्फबाट आयोगका प्रवक्ता सुदर्शन मरहट्ठालाई राखेको थियो। उनले पर्याप्त समय बाँकी रहेकाले अहिले नै परीक्षा हुँदैन भनेर भन्ने अवस्थामा आयोग नरहेको बताए। उनले भने,  “त्यसका लागि हामीसँग अझै पनि पर्याप्त समय छ। भर्खर आवेदन फारम सङ्कलन गर्ने काम भइरहेकाले आयोगले यो सम्बन्धमा केही निर्णय गरेको छैन। यद्यपि कोरोना सङ्क्रमण बढ्दै गएमा नेपाल सरकारको निर्देशन मान्नुपर्ने हुँदा परीक्षा नहुन पनि सक्छ। तर म तपाईँको “मात्र एजुकेसन” मिडिया मार्फत तयारी गरिरहेका साथीहरूलाई तयारी नरोक्न र अहिले नै परीक्षा नहोला कि भन्ने किसिमको मानसिकता नबनाउन आग्रह गर्छु”। उनका अनुसार आयोगले आफ्नो आन्तरिक तयारी गरिरहेकै हुनाले आयोग सामान्य अवस्था रहेमा परीक्षा गराउन तयार छ भने असामान्य अवस्था आएमा नेपाल सरकारको निर्णय अनुसार आयोग अगाडी बढ्नेछ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड