काठमाडौँ- चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूले अनेक उपाय अवलम्बन गर्दा पनि आफ्नो समस्या समाधान नभएको गुनासो गरेका छन्। पटक पटक विरोध, ध्यानाकर्षण आदि गर्दा पनि आश्वासन भन्दा अरू केही नपाएको उनीहरूको गुनासो छ।
पछिल्लो पटक मन्त्रिपरिषदबाट विदेशको विभिन्न विश्वविद्यालयबाट एमबिबिएसको अध्ययन गरेका तर इन्टर्नसिप पूरा नभएका विद्यार्थीहरू व्यवस्थापन गर्न निर्देशन आएको १४ दिन बढी भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यदल गठन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई पत्र कटिसकेको भए पनि हालसम्म कार्यदल बन्ने प्रक्रिया अघि बढ्न सकेको छैन।
सयौँ विद्यार्थीहरूको भविष्य जोडिएको यस्तो संवेदनशील विषयमा सम्बन्धित निकाय मौन बस्नु र मन्त्रिपरिषदबाट आएको निर्देशनको समेत बेवास्ता गर्नुले यी निकायहरूको नियतमा कतै खोट त छैन भन्ने प्रश्न विद्यार्थीहरूको छ। आफूहरूलाई प्रत्येक मिनेट बहुमूल्य हुने भए पनि राज्यका निकायहरूको अकर्मण्यताले करिब ८ महिना त्यसै खेर गएको गुनासो उनीहरू गर्छन्।
फेरी पनि महामारी फैलिँदै गरेकाले स्वास्थ्य क्षेत्रमा विशेष सजगता अपनाउने र पर्याप्त जनशक्ति व्यवस्थापन गर्न राज्यले ढिला गर्न नहुने भन्दै विद्यार्थीहरू आफ्ना गुरुहरूको छत्र छायाँमा काम रहेर सेवा गर्न पाए जीवन सफल भएको अनुभूत आफूहरूलाई हुने बताउँछन् । फाइल तस्बिर