काठमाडौँ- कोरोना सङ्क्रमण बढेसँगै सीसीएमसीसीले गरेको १५ माघसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने सिफारिसलाई शिक्षा मन्त्रालयले सदर गरे पनि स्थानीय तहहरू त्यसको विरुद्धमा उभिएका छन्। सङ्क्रमणको जोखिम ह्वात्तै बढेको भन्दै विद्यालयहरूलाई १५ माघसम्म हिउँदे बिदा दिन र अभिभावकहरूलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन अनुरोध गर्दै सीसीएमसीसीले मन्त्रालयमा सिफारिस पठाएको थियो। पहिले पनि २ वर्ष पुरै पठनपाठन अवरुद्ध भएको र अहिले पनि हचुवाको भरमा सबै विद्यालय एकै चोटि बन्द गर्ने निर्णय गरेको भन्दै स्थानीय तहहरूले आ-आफ्नै निर्देशन जारी गरेका छन्। माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइसकेको अवस्थामा केन्द्रबाट सबैतिर एकैनासको ठाडो निर्देशन आएकोमा पालिकाहरूले आपत्ति समेत जनाएका छन्।
सिन्धुपाल्चोक जिल्लाका तिन स्थानीय तहले तत्काल विद्यालय बन्द नगर्न निर्देशन दिएको खबर प्राप्त भएको छ। जिल्लाको मेलम्ची नगरपालिकाले नगर शिक्षा समितिले बन्दको निर्णय नगरुन्जेलसम्म नगरपालिकाका विद्यालय बन्द नहुने नगरपालिकाका शिक्षा अधिकृत सुधिनराज बुढाथोकीले बताएका छन् । त्यस्तै आवश्यक परेमा पालिकाले निर्णय गर्ने भन्दै इन्द्रावती गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरिराख्न निर्देशन दिएको छ। अर्को स्थानीय तह बलेफी गाउँपालिकामा पनि सरकारले तोकेको विद्यालय बन्दको प्रभाव कम परेको खबर छ। स्थानीय प्रविण नेपालले मात्र एजुकेसन लाई दिएको जानकारी अनुसार गाउँपालिका भित्र परीक्षा सञ्चालन भई रहेकोले आगामी माघ ४ गतेबाट मात्र विद्यालय बन्द हुने देखिएको छ।
धादिङको धुनिवेशी नगरपालिकाले विद्यालय बन्द नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउँदै पढाइ जारी राख्न निर्देशन दिएको छ। त्यस्तै धनकुटाको चौबिसे गाउँपालिकाले पनि पालिकाभित्र सङ्क्रमण नभएको, शिक्षक र बालबालिकाले खोप लगाइसकेको र विद्यार्थीको पढाइमा गत २ वर्षदेखि अवरोध भएको भन्दै स्वास्थ्य मापदण्ड ख्याल गर्दै नियमित पठनपाठन गर्न निर्देशन दिएको छ।
म्याग्दीमा पनि तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेपछि नियमित पठनपाठन सञ्चालन हुने भएको हो। उदयपुरको त्रियुगा नगरपालिकाले पनि पालिकाभित्र कोरोना सङ्क्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरू बन्द नगर्ने भएको छ ।
यसैबिच वीरगन्ज महानगरले भने विद्यालय बन्द नगर्नु भनी दिएको आदेश भोलिपल्टै उल्ट्याएको छ। एक सूचना जारी गर्दै अर्को सूचना नआउन्जेल विद्यालयमा १२ वर्ष उमेर समूहका विद्यार्थीको भौतिक पठनपाठन नगर्न निर्देशन जारी गरेको हो । साथै माघ ७ सम्ममा विद्यालय तहका परीक्षाहरू सक्न पनि निर्देशन दिएको छ । वीरगन्जस्थित देशकै पुरानो त्रिजुद्ध माविका २ जना शिक्षकमा कोरोना पोजेटिभ देखिएपछि यो निर्णय आएको हो ।