काठमाडौँ- केही समय कोरोना सङ्क्रमणको त्रास कम भएपछि खुलेका विद्यालयहरू फेरी बन्द हुन थालेका छन्। नयाँ नयाँ भेरियन्ट भेटिएको खबर विभिन्न देशहरूबाट आइरहँदा पछिल्लो समय ओमिक्रोन नामक भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। हिजो मात्रै स्वास्थ्य मन्त्रालयले नेपालमा पनि २४ जनामा उक्त भेरियन्ट भेटिएको जानकारी गराएको थियो। त्यो भन्दा अघि नै सङ्क्रमण भेटिएको र बढेको भन्दै काठमाडौँ उपत्यकाका केही विद्यालय र उपत्यका बाहिरका पनि केही विद्यालय बन्द भइसकेका थिए।
सङ्क्रमणकै कारण विद्यालय बन्द हुने क्रम अझै बढ्ने देखिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिका भित्रका केही विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
शुक्रबार बसेको तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
कोरोनाको सङ्क्रमण बढेपछि बुधवारदेखि नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कुल मावि तुलसीपुर बन्द भइसकेका छन् । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । त्यस्तै तुलसीपुरमा बिहीबार सम्म ८४ जनामा कोरोना पुष्टि भएको छ ।
अन्य पालिका र स्थानीय निकायहरू पनि सङ्क्रमण बढेमा जोखिम नउठाउने र विद्यालय बन्द गर्ने तयारीमा छन्। त्यस्तै नेपाल सरकारले पनि अवस्था हेरेर स्मार्ट लकडाउन गर्ने तयारी गरेकाले बिस्तारै माथि उठ्दै गरेको शैक्षिक क्षेत्र फेरी मारमा पर्ने देखिएको छ।