काठमाडौँ- मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न शिक्षकहरूलाई निर्देशन दिए। बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न निर्देशन दिएका हुन्।
अभिभावकको सहयोग, शिक्षकको लगनशीलता र विद्यार्थीहरूको सक्रियताले सार्वजनिक शिक्षा सुधार हुने आशय राखेका मन्त्री पौडेलले तुरुन्तै शिक्षकहरूलाई अर्को निर्देशन दिन भ्याए। विद्यार्थीलाई किताबी ज्ञानले मात्र हुँदैन अहिलेको प्रविधिसँग अपडेट गर्नुस्।
मन्त्रीका यी दुई निर्देशन नै आपसमा बाझिएका छन्। विद्यालय समयमा पढाउने मात्र हो अतिरिक्त क्रियाकलाप गर्ने होइन भन्ने मन्त्रीले तुरुन्तै किताबी ज्ञानले मात्रै विद्यार्थीलाई पुग्दैन भन्नुले आफैँ अतिरिक्त क्रियाकलापको महत्त्व दर्साएको छ। आज विश्वका धेरै सफल मानिएका शैक्षिक संस्थाहरू पढाइ सँगै विद्यार्थीको सर्वपक्षीय विकासका लागि गरिने क्रियाकलाप बाट सफल भएका छन्। कागजी ज्ञान भन्दा सिप, दक्षता र क्षमता खोज्ने यो समयमा खालि व्याख्यान विधिबाट पढाउनु पर्छ मात्रै भन्नुमा कुनै तर्क देखिँदैन। त्यो सँगै गरेर सिकिन्छ भन्ने सिद्धान्तलाई पनि हामीले भुल्नु हुँदैन । त्यसै पनि नेपाली सार्वजनिक शिक्षामा अतिरिक्त क्रियाकलाप बढी भएर गुणस्तर खस्किएको देखिँदैन। बरु वर्षौँदेखि विद्यमान रहेको पुरानो अव्यवहारिक पाठ्यक्रम, पुरानै शिक्षण शैली, समयमा पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या, चरम राजनीति, राज्य संयन्त्रको फितलो अनुगमन, स्थानीय तह र अभिभावकको बेवास्ता लगायतका अन्य विविध समस्याले गुणस्तर कायम हुन नसकेको हो। त्यसो त सरकारी विद्यालयमा पढाउने शिक्षकको गुणस्तर कायम हुन नसक्नुमा केही दोष छैन भन्न त नमिल्ला तर आम नेपाली समाजको बुझाइ जस्तै मन्त्री पौडेलले पनि सरकारी स्कुलमा शिक्षकहरूले पढाउँदैनन् भन्ने मानसिकता बोकेको देखिन्छ। असल व्यवस्थापन भएका कतिपय सरकारी सामुदायिक विद्यालयले महँगा निजी विद्यालयलाई पछि पारेका उदाहरण हाम्रै अगाडी प्रशस्तै भेटिन्छन्। त्यसैले शिक्षकले पढाएनन् र अतिरिक्त क्रियाकलापका कारण गुणस्तर खस्कियो भन्नु भ्रम मात्र हुनेछ।