काठमाडौँ – जाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने भन्दै आजदेखि सात दिनका लागि नगरपालिकाले सबै विद्यालयको पठनपाठन बन्द गरेको हो ।
जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको छ । कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिए।
नगरपालिकाका शिक्षा शाखाका अनुसार ‘कोभिडका कारण बालबालिकाको पठनपाठनमा ढिलाइ भएका कारण जाडो बिदा नदिने निर्णय गरेको भए पनि प्रतिकूल मौसमका कारण माथिल्लो भेगमा हिउँ परेको र हिजोदेखि अत्यधिक चिसो बढेपछि एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले बताए ।