Matra Education आइतबार, साउन १० २०८३

हल्लाको पछि नलागौँ, यसो भएमा मात्रै खारेज हुनेछ एसइई परीक्षा

हल्लाको पछि नलागौँ, यसो भएमा मात्रै खारेज हुनेछ एसइई परीक्षा

  • मात्र एजुकेशन
  • मंगलबार, पौस १३ २०७८


काठमाडौँ- केही दिन अघि देखि केही नेपाली सञ्चारमाध्यममा एसइई परीक्षा खारेज सम्बन्धी समाचारले प्राथमिकता पाइरहेको छ। यस्तो समाचारले चर्चा पाइरहँदा एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थी, अभिभावक तथा विद्यालयहरू दुबिधामा परेका छन्। “मात्र एजुकेसन’ को इनबक्समा यस्ता जिज्ञासाले भरिपूर्ण थुप्रै प्रश्नहरू आएपछि हामीले यसबारे तपाईँलाई जानकारी दिनका लागि यो समाचार तयार पारेका छौँ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले गत वर्ष जेठ २९ गते एसइई परीक्षा खारेज गरी विद्यालयबाटै लिन सरकारलाई निर्देशन दिएको थियो । तर शिक्षा ऐन संशोधन नभएसम्म एसइई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको दफा ५ को उपदफा ४ (ट) मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा ऐन संशोधन नभएसम्म यो परीक्षा प्रदेश वा विद्यालयबाट लिन सम्भव नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।

प्रतिनिधिसभामा बहुमतले पारित गरी राष्ट्रिय सभाको बहुमत वा सरकारले अध्यादेशबाट मात्र ऐन संशोधन गर्न सक्छ। संसद्को समितिले अघिल्लो र यो वर्ष शिक्षा ऐनमा उल्लेख भएको विषय नबुझेर वा काम देखाउनका लागि परीक्षा खारेज गर्न निर्देशन दिएको सरोकारवालाको टिप्पणी छ। यो विषय अहिले मात्रै उठेको नभई यसअघिका शिक्षामन्त्रिहरुको कार्यकालमा पनि उठाइएको थियो ।

मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन पटक पटक प्रयास गरे पनि सम्भव भएको छैन । दर्जनौंपटक समितिमा छलफल भएर कानुन मन्त्रालयले प्रक्रियामा लगिसकेको भए पनि हालसम्म संसद्मा उक्त ऐनको प्रस्ताव नलगिएको प्रवक्ता शर्माले बताए । त्यस कारण तत्कालै एसइई परीक्षा खारेज हुने सम्भावना देखिँदैन। विद्यार्थीहरूले आफ्नो तयारीलाई जारी राख्नु उपयुक्त हुन्छ। फाइल तस्बिर 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड