काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिका अनुसार धमाधम खुला विज्ञापन गरिरहेको छ। उसले माध्यमिक तथा निम्न माध्यमिक तहको विज्ञापन खोलिसकेको छ भने प्राथमिक तहको पनि छिटै खोल्ने तयारीमा छ। त्यस्तै कार्यतालिकामा सबैभन्दा अगाडी गर्ने भनिएको बढुवाको काम पनि अब अघि बढ्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेसँगै शिक्षकहरूको आन्तरिक बढुवाको बाटो खुलेको हो ।
पाँच वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको बाटो खुले सँगै ३३९८ शिक्षकको आन्तरिक बढुवा गर्ने तयारीमा शिक्षक सेवा आयोग जुटिसकेको छ । नियमावलीको १० औँ संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको थियो। नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णाङ्कको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णाङ्कको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो ।
शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्न आयोगलाई शिक्षा मन्त्री देवेन्द्र पौडेलले बारम्बार निर्देशन दिएका छन् । आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको सङ्ख्या माग गरेको छ । रिक्त भएका शिक्षक पद सङ्ख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गर्न सो माग गरिएको हो ।
त्यस्तै शिक्षकको जिल्लान्तर सरुवा तत्काल खुला नहुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत असोज १३ गते शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको थियो । केन्द्रले दिएको जानकारी अनुसार तत्काल सरुवा खुला हुनेछैन र त्यसका लागि केही समय कुर्नै पर्नेछ।