Matra Education आइतबार, साउन १० २०८३

टेक्सस करियर फेस्ट सम्पन्न, देशमै शिक्षा लिन विद्यार्थीलाई अपिल

टेक्सस करियर फेस्ट सम्पन्न, देशमै शिक्षा लिन विद्यार्थीलाई अपिल

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ६ २०७८


काठमाडौँ- करियर पोइन्ट एजुकेसन प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको करियर फेस्ट कार्यक्रमको तेस्रो संस्करण सम्पन्न भएको छ। टेक्सस इन्टरनेसनल कलेजको मुख्य प्रायोजनमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

दुई चरणमा सम्पन्न कार्यक्रममा देशका दुई ठुला दलका नेतालाई प्रतिनिधित्व गराइएको थियो। नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले उद्घाटन गरेको पहिलो चरणको कार्यक्रममा २० भन्दा बढी कलेजका प्रतिनिधिहरूले विद्यार्थीलाई नेपाल मै उच्च शिक्षा हासिल गर्न प्रेरित गरेका थिए। टेक्सस, प्रेसिडिन्सियल सहित अन्य कलेजहरूको सहभागिता रहेको यो सेसनमा विभिन्न कलेजका शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापकहरू सहभागी थिए।

उद्घाटन पछि नेता पौडेलले विभिन्न विदेशी विश्वविद्यालयहरूले पनि नेपाल मै पाठ्यक्रम सञ्चालन गरेकाले नेपाल मै पढ्नु पर्नेमा जोड दिए। अब नेपाली शिक्षाको स्तर पनि माथि उठ्दै गएकाले नेपाली शिक्षालाई प्रवर्धन गर्नुपर्ने उनको धारणा थियो।

कार्यक्रमको दोस्रो चरणमा भएको सेमिनारलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पानसमा बत्ती बालेर उद्घाटन गरे। उनले पनि नेपाली शिक्षाको स्तरोन्नति गर्नु हामी सबैको दायित्व भएको हुँदा आ-आफ्नो ठाउँबाट भूमिका खेलेर देशमै पढ्ने वातावरण बनाइ हरेक वर्ष शिक्षाका लागि देशबाट बाहिरिइरहेको रकम रोक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले आ-आफ्नो विद्यार्थी जीवनका सुख दुखका क्षण सुनाउँदै सम्पूर्ण विद्यार्थीहरूले मिहिनेत गरी नेपाल मै पढेर देशलाई योगदान गर्नुपर्ने बताए।

कार्यक्रम पछि मात्र एजुकेसनलाई प्रतिक्रिया दिँदै टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल भेसराज पोखरेलले नेपालमै पढ्नुपर्छ भन्ने भाव आम नेपाली विद्यार्थीमा जगाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए। नेपालमै सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने टेक्सस जस्ता कलेजहरू भएकाले देशमै बसेर गुणस्तरीय शिक्षा पाउने अवसर विद्यार्थीले गुमाउन नहुने उनको भनाइ थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड