काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा सहभागी स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गेटबाटै उधारो दीक्षित भइयो भन्दै फर्किएका छन् । कोरोना महामारीका कारण सो समारोहमा विद्यावारिधि र एमफिलमा उत्तीर्ण विद्यार्थीहरूलाई मात्र सहभागी गराइएको हुँदा तल्लो तह उत्तीर्ण गरेकाहरू निराश बनेर फर्किएका हुन्।
कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा समारोहको आयोजना गरिँदै आएको छ । दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थी मात्र आमन्त्रण गरिएका थिए ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले ५९औँ ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएको जानकारी दिए । त्यसमा विद्यावारिधि, डिएमरएमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन् ।
त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औँ ग्रेस लिस्टमा समावेश भएका विद्यार्थीलाई त्रिविले दीक्षित गरेको जनाएको छ ।
आज सम्पन्न विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थी दीक्षित भएका हुन्।