Matra Education आइतबार, साउन १० २०८३

अलमलमा पर्नुभयो? यसरी भर्नुहोस् शिक्षक सेवा आयोगको फारम

अलमलमा पर्नुभयो? यसरी भर्नुहोस् शिक्षक सेवा आयोगको फारम

  • मात्र एजुकेशन
  • आइतबार, पौस ४ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले यसपालि परीक्षा फारम भराउने काम अनलाइनबाट गरेको छ। पुरानो तरिका बाट फारम भराउँदा समय लाग्ने भएकोले आयोगले यो नयाँ व्यवस्था गरेको हो। पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हुँदा ठुलो सङ्ख्यामा शिक्षकहरूले आवेदन दिँदा पनि समस्या नआउने गरी व्यवस्थित प्रणालीको निर्माण गरेको आयोग स्रोत बताउँछ। अनलाइन फारम भर्ने नयाँ तरिका भएकाले तपाईँलाई समस्या पर्न सक्छ भनेर हामीले यो सामग्री तयार पारेका छौँ। तपाईँले यहाँ नयाँ तरिकाको फारम भर्न सिक्नुहुनेछ।

सर्भर ह्याङ नहोस् भन्नका लागि आयोगले आफ्नो वेबसाइटलाई प्रयोगमा नल्याई अर्को वेबसाइट तयार गरेको छ । onlinetsc.gov.np (अनलाइन डट टीएससी डट जीओभी डट एनपी) मा लगइन गरेपछि त्यहाँ एकाउन्ट लगइन/ रजिस्टर देखाउँछ । लगइन गरेपछि इमेल ठेगाना र पासवर्ड देखाउँछ । त्यसले मागेको कुरा उल्लेख गरेर लगइन गर्नुपर्छ ।

त्यसपछि छ डिजिटको ओटिपि (वान टाइम पासवर्ड) पठाउँछ । त्यसपछि भेरिफाइ भएको भन्छ र त्यहाँभित्र पस्न अनुमति पाइन्छ । त्यसपछि व्यक्तिगत विवरणदेखि अनुभवका कुरा माग्छ । ती भर्दै जानुपर्छ ।

व्यक्तिगत विवरणमा नाम, बिचको नाम र थर, लिङ्ग, जन्म मिति, नागरिकता नम्बर, नागरिकता जारी भएको स्थान आदि विषय भर्नुपर्ने हुन्छ । स्थायी ठेगानामा प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर भर्नुपर्छ । सम्पर्क ठेगानामा पनि स्थायी ठेगानामा जस्तै प्रदेश लगायतका विवरण भर्नुपर्ने हुन्छ ।

अध्यापन अनुमति पत्र सम्बन्धी विवरणमा अध्यापन अनुमति पत्र प्राप्त तह, त्यसको प्रकार, त्यसको क्रम सङ्ख्या, त्यसको प्राप्त मिति र आयोगले निर्णय गरेको मिति उल्लेख गर्नुपर्छ ।

कार्यरत अघिल्ला विद्यालयको विवरण, न्यूनतम शैक्षिक योग्यताको विवरण, तालिम विवरण, कागजातहरू आदि भर्नुपर्ने हुन्छ ।

नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमति पत्र, तालिमको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातको जेपीजी फर्म्याटमा तस्बिर राख्नुपर्छ । ती तस्बिर सम्पादन गर्न सकिन्छ । तस्बिर २०० केबी आकारको हुनुपर्छ । “फोटो काँटछाँट गर्नुपरेमा त्यही गर्न सकिने सुविधा राखिदिएका छौँ” उनले भने ।

यति विवरण भरेपछि स्वतः भौचर प्राप्त हुन्छ र त्यसलाई प्रिन्ट गरेर बैङ्कमा राजश्व तिर्न जानुपर्ने हुन्छ । नेपाल बैङ्क लिमिटेड वा राष्ट्रिय वाणिज्य बैङ्कमध्ये कुनै एक बैङ्कमा गई राजश्व तिर्न सकिने सुविधा दिइएको छ । राजश्व तिरेपछि बैङ्कले महालेखा नियन्त्रणको कार्यालयलाई रकम भुक्तानी गरेको जनाउ दिन्छ । एउटा समूहका लागि एक हजार रुपियाँ शुल्क तिर्नुपर्छ र प्रति थप समूहका लागि छ सय रुपियाँका दरले रकम अतिरिक्त बुझाउनुपर्ने हुन्छ ।

रकम भुक्तानी गरेको करिब १५ मिनेटमा रेस्पोन्स आउँछ र श्यामश्वेत प्रवेश पत्र प्राप्त हुन्छ । त्यसलाई प्रिन्ट गरेर परीक्षाका बखत ल्याउनुपर्छ । आयोगले अलग प्रवेश पत्र दिँदैन । आवेदन फाराम भर्दा सुरुमा राखिएको पासवर्ड सम्झनामा हुनुपर्छ । त्यसका आधारमा जति पनि पटक प्रवेश पत्र प्रिन्ट गर्न सकिन्छ । रकम भुक्तानी गरे लगत्तै प्रिन्ट गर्नुस् वा परीक्षा हुने बेला प्रिन्ट गर्नुस् त्यो तपाईँको खुसी । यो प्रवेश पत्र अन्तर्वार्ता सम्मलाई काम लाग्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड