काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका नेपाली विद्यार्थीहरूले आफ्नो नतिजा पाइसकेका छन्। नतिजा हात परे सँगै उनीहरू आफ्नो अघिल्लो तहको अध्ययनका लागि उपयुक्त शैक्षिक संस्था र विषय छनोट गर्न व्यस्त छन्। विशेषतः नेपाली शिक्षा प्रणालीमा माध्यमिक तहअघिको पढाइमा एकरूपता हुने र विद्यार्थीले ठुलो छनोट गर्नु नपर्ने कारण पनि त्यसपछिको छनोट महत्त्वपूर्ण हुन्छ। एउटा व्यक्तिको करियरको प्रवेशद्वार मानिने +२ पढ्नुअघि यदि उपयुक्त विषय र क्याम्पस छान्न सकिएन भने त्यसको असर जीवनभर रहन सक्छ। त्यसैले आज हामीले उपयुक्त विषयको छनोट कसरी गर्ने भन्ने विषयमा यो सामग्री तयार पारेका छौ।
उच्च माध्यमिक तहमा जुन विषय पढिन्छ, त्यही मार्फत विद्यार्थीको करिअर बन्छ । त्यसैले समयमै सही विषय छान्नुभयो भने मात्रै त्यसले तपाईँको करिअर राम्रो बन्छ । एसईई सकेपछि उच्च शिक्षामा प्राविधिक र अन्य विषय गरेर दुई किसिमका विषय छान्न पाइन्छ ।
प्राविधिक विषय पढ्न अलि खर्च बढी लाग्छ । त्यो सँगै मेहनत पनि बढी चाहिन्छ । तर, यो विषय पढ्न सक्यो भने करिअर राम्रो हुन्छ । एसईई पास गरेका विद्यार्थीले कस्तो खालको प्राविधिक विषय पढ्ने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
प्राविधिक विषय
अहिले प्राविधिक विषयमा आकर्षण छ । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक विषय पढाउँछ । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले प्राविधिक विषयतर्फ ४९ वटा कोर्षको पाठ्यक्रम तयार पारिएको बताए । ती सबै लागु हुन नसकेको उनको भनाई छ ।
अहिले गत वर्षदेखि नर्सिङको कार्यक्रम बन्द छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारण एसइईपछि पढ्न पाइने नर्सिङ कार्यक्रममा भर्ना लिन नपाइएको काफ्लेको भनाई छ ।
परिषद्ले आफ्ना आंगिक, साझेदारी, सामुदायिक विद्यालय तथा निजी स्तरमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसइईपछि विद्यार्थीका लागि प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियररिङ तहका कार्यक्रममा पढाई हुने उनको भनाई छ ।
प्रमाणपत्र तह नर्सिङ पढ्न चाहने विद्यार्थीका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।
समग्रमा न्यूनतम २ जिपिए ल्याएका विद्यार्थीले प्रमाणपत्र तह नर्सिङ पढ्न सक्नेछन् । तीन वर्षे यो कोर्षका लागि चार लाख ७५ हजार शुल्क तोकिएको छ । त्यस्तै हेल्थ असिस्टेन्ट पनि पढ्न सकिनेछ । यसका लागि पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । तीन वर्षे हेल्थ असिस्टेन्ट पढ्नको लागि चार लाख चार हजार शुल्क तोकिएको छ ।
त्यस्तै तीन वर्षे नै कोर्ष रहेको डिप्लोमा इन फार्मेसीका लागि तीन लाख ३७ हजार ८ सय रुपैयाँ शुल्क तोकिएको छ । सदस्य सचिव काफ्लेले स्वास्थ्यमा यी बाहेक नेत्रविज्ञान, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी लगायतका विषय पनि पढ्न पाइने बताए ।
स्वास्थ्यबाहेक इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय पनि अध्ययन गर्न पाइन्छ । सिटीईभिटीले यी कार्यक्रमको अवधि १८ महिनेदेखि ३ वर्षसम्मको राखेको छ ।
इञ्जिनियरिङतर्फ कुन कुन विषय पढ्न पाइन्छ ?
इञ्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ विषय पढ्न पाइन्छ ।
त्यस्तै, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ विषय पढ्न पाइने सीटीईभिटीले जनाएको छ ।
तीन वर्षे यी कोर्षका लागि फरक फरक शुल्क लाग्छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम ‘सी’ ग्रेड र अंग्रेजीमा न्यूनतम ‘डी’ प्लस ग्रेट ल्याएको हुनुपर्छ ।
कृषि तथा वनविज्ञानमा कुन विषय पढ्ने ?
कृषि तथा वनविज्ञान अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री विषय पढ्न पाइनेछ । डिप्लोमा तहका कृषि, फुड एण्ड डेरी टेक्नोलोजी र फरेष्ट्रीका लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमातर्फ होटल म्यानेजमेन्ट विषय पढ्न पाइनेछ ।
यसका लागि लागि अङ्ग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनसिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वक्र्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।
सिटिईभीटीमार्फत् सञ्चालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने सदस्य सचिव काफ्लेको भनाई छ ।
सिटीईभिटीकै ६३ वटा आंगिक शिक्षालय छन् । त्यस्तै ४३ वटा शिक्षालय साझेदारीमा चलेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत ५७३ वटा शिक्षालय छन् भने निजी क्षेत्रबाट ४२९ वटा सम्बन्धन प्राप्त शिक्षण संस्थाले प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको सदस्य सचिव काफ्लेले बताए ।
देशभर रहेका प्राविधिक विषय अध्यापन गराउने शिक्षण संस्थामा ८४ हजार विद्यार्थीले प्राविधिक विषय पढ्न पाउने क्षमता छ । तर, गत वर्ष जम्मा सिट क्षमताको ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका थिए ।
सिट क्षमताअनुसार विद्यार्थी भर्ना हुन नसक्नु पछाडि विभिन्न कारण रहेको सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेको भनाई छ ।
प्राविधिक विषयको महत्व बुझ्न नसक्नु, शुल्क महँगो हुन्छ भन्ने भ्रममा रहनु जस्ता कारणले विद्यार्थीहरु प्राविधिक विषय पढ्न कम आउने गरेका छन् । सिटीईभिटी अन्तर्गत डिप्लोमा तहमा ३२ वटा र प्रि डिप्लोमा तहतर्फ २२ वटा विषयमा पढाई हुँदै आएको छ । प्रतीकात्मक तस्बिर