काठमाडौँ- शुक्रवारको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्रीपरिषद्को बैठकले संशोधनका लागि समितिमा पठाएको संशोधन प्रस्ताव आज स्वीकृत भएको हो । यो संशोधन सँगै आयोगको नियमावलीको ११ औँ संशोधन भएको छ।
११औँ संशोधनले शिक्षक छनोटका लागि नयाँ प्रावधान गरेको छ । नियमावलीको १० औँ संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरक फरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको खबर छ।
नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णाङ्कको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णाङ्कको परीक्षाको व्यवस्था गर्ने गरी नियमावली संशोधन भएको हो । नियमावली संशोधन सँगै आयोगलाई शिक्षक छनोटका लागि अब सबै खाले बाटो फुकेको छ । सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दीमा नयाँ शिक्षक छनोटका लागि अनुमति पाएको आयोगले माध्यमिक तहको विज्ञापन गरिसकेको छ भने अन्य तहको गर्ने तयारीमा छ।
आजको संशोधन सँगै बढुवाको काम गर्न पनि आयोगलाई बाटो खुलेको छ।