काठमाडौँ- चाबहिलको मनास्लु वर्ल्ड कलेजले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेको हो ।
मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षता र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिले हेर्न लायक बनाएको कार्यक्रमलाई सम्मान कार्यक्रमले अझै आकर्षक बनाएको थियो । मनास्लुले समाजमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई कार्यक्रममा सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा शिक्षाविद् कर्ण बहादुर शाही मनास्लु शिक्षासेवी सम्मान, वरिष्ठ पत्रकार जीवराम भण्डारी मनास्लु पत्रकारिता सम्मान, गायक तथा सामाजिक अभियन्ता धिरज राई मनास्लु कलाकारिता सम्मान र खेलाडी पलेसा गोवर्धन मनास्लु खेल सम्मान बाट सम्मानित भएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खतिवडाले मनास्लुको जस्तो विद्यार्थी र कलेज सञ्चालक बिचको आत्मीयता आफूले अन्त कतै नदेखेको धारणा राखे। वैज्ञानिक शिक्षाका लागि आफू लडेको बताएका उनले निजी क्षेत्रको प्रवेश पछि नेपालको शैक्षिक गुणस्तर उकासिएको बताए । नेपाल सरकारले बालबालिकाका लागि कोरोना विरुद्धको खोप प्रत्येक स्कुलमा लगाउने कार्यक्रम बनाएको हुँदा त्यसमा सहयोग गर्न उनले विद्यालयहरू र तिनका सङ्घ संस्थाहरूलाई आग्रह पनि गरे।
उपस्थित अतिथिलाई स्वागत गर्दै मनास्लुका एकेडेमिक हेड शशी केसीले कार्यक्रम स्वागत बिदाइ मात्रै नभई संस्कार सिकाउनका लागि राखिएको र त्यसैका लागि स्रष्टा सम्मान थपिएको बताए ।
काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोलले कार्यक्रममा नेपाली शिक्षा प्रणालीलाई पुनर्विचार गर्ने उपयुक्त समय आएको धारणा राखे । पछिल्लो समय देशमा केही गर्ने भन्दा पनि बिदेसिने ट्रेन्ड बढिरहेको भन्दै शैक्षिक संस्थाहरूले अब स्वरोजगार र सिपमूलक शिक्षा तिर जोड दिनुपर्ने उनको भनाई थियो । अबका विद्यार्थीलाई देश र अभिभावक प्रति जिम्मेवार बनाउन उनले कलेज प्रशासनलाई आग्रह समेत गरे।
सम्मान ग्रहण गरेपछि उत्साहित मुद्रामा मञ्च उक्लिएका गायक धिरज राईले आफ्नो “बुद्ध बर्न इन नेपाल” अभियानको पृष्ठभूमि बारे जानकारी दिँदै पाठ्यक्रमले कसरी गलत कुरालाई प्रशय दिंदैछन् भन्ने प्रस्ट पारे। आफ्नो स्नातकोत्तर दोस्रो वर्षको पुस्तकमा बुद्ध भारतमा जन्मेको भनेर लेखेको पाएपछि आफूहरूले आन्दोलन गरेर त्यो पुस्तक हटाएको दृष्टान्त दिँदै उनले यस्ता गलत पाठ्यपुस्तक पढाउँदा सम्म गुणस्तरीय शिक्षा दिन नसकिने विचार राखे । त्यसबाहेक आफ्नो उत्कृष्ट गायन बाट उनले कार्यक्रमको माहौल बनाउने काम गरेका थिए ।
कार्यक्रममा अन्य राष्ट्रिय कलाकारहरू चर्चित हास्य कलाकार दम्पती केदार घिमिरे “माग्नेबुडा” र सिता देवी तिमल्सिना “चन्द्रमुखी”, यो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल, नृत्य कलाकार सुजन मार्पा तामाङ र मोटिभेसनल स्पिकर शौनक भट्टको समेत विशेष प्रस्तुति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्थापनाको छोटो समयमै सफलता हात पारेको भन्दै मनास्लुलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएका थिए।
कार्यक्रम पश्चात् मात्र एजुकेसनलाई संक्षिप्त प्रतिक्रिया दिँदै मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको प्रतिक्रिया दिए । कलेजले आफ्ना विद्यार्थीलाई राष्ट्रिय स्तरको कार्यक्रम गरिने ठाउँमा ल्याएर कार्यक्रम गर्दा उनीहरूले धेरै कुरा सिक्ने र राष्ट्रिय कलाकार ल्याउँदा कलाकारको पेसागत वृत्ति तथा सम्मान हुने भएकाले पनि कार्यक्रम यसरी गरिएको उनको भनाइ थियो । त्यस बाहेक भावी पुस्ताको नेतृत्व जन्माउने कलेजको उद्देश्य पूरा गर्नमा यस किसिमका कार्यक्रमले सहयोग गर्ने उनको धारणा थियो ।
मनास्लुका विद्यार्थीको नृत्य तथा सङ्गीत हेर्ने कार्यक्रमको जो सुकै दर्शक पनि प्रिन्सिपल श्रेष्ठको कुरामा सहमत हुनसक्ने स्थिति बनेको थियो । विद्यार्थीले कार्यक्रममा प्रस्तुत गरेका ती लोभलाग्दो प्रस्तुतिले पनि मनास्लु साँच्चै आफ्ना विद्यार्थीको सर्वपक्षीय विकासमा दत्त चित्त छ भन्ने पुष्टि गरेको छ।