काठमाडौँ- नयाँ पदाधिकारी नियुक्त भएको चार महिना पछि शिक्षक सेवा आयोगले विज्ञापन खोल्ने तयारी गरेको छ। परीक्षा फारम भराउने काम अनलाइनबाट गर्ने गरी विज्ञापन खोल्ने तयारी भएको हो । पुरानो तरिका बाट फारम भराउँदा समय लाग्ने भएकोले आयोगले यो नयाँ व्यवस्था गर्न लागेको जनाएको छ ।अनलाइन आवेदन दिँदा ठुलो सङ्ख्यामा शिक्षकहरूले आवेदन दिँदा पनि समस्या नआउने गरी व्यवस्थित प्रणालीको निर्माण गरिएको आयोग स्रोत बताउँछ।
केही समय अघि आयोगले जारी गरेको वार्षिक कार्यतालिका अनुसार अनुसार मङ्सिर महिनामा बढुवा र खुला विज्ञापन दुवैको परीक्षा विज्ञापन खुलाइने उल्लेख भए अनुसार खुला विज्ञापन गर्न लागिएको हो। तर बढुवाको विज्ञापन भने कहिले हुन्छ टुङ्गो हुन सकेको छैन।
आयोगको कार्यतालिका अनुसार शिक्षक बढुवाको विज्ञापन सबैभन्दा अगाडि गर्ने योजना थियो। तर नियमावलीलाई कारण देखाउँदै त्यो कार्यान्वयन हुन सकेको छैन। यद्यपि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश मार्फत ऐन ल्याएर नयाँ शिक्षक भर्ना प्रक्रिया थालिने हुँदा शिक्षक सेवा आयोगको नियमावली संशोधन नहुने यसअघि नै मात्र एजुकेसनलाई जानकारी गराइसकेका छन्। तर मन्त्रिपरिषद्को बैठकले उक्त काम कहिले गर्छ भन्ने टुङ्गो हुन सकेको छैन। यतिबेला मन्त्रीहरू आफैँ पनि विभिन्न दलको महाधिवेशनमा व्यस्त रहेकाले तत्कालै ऐन आएर प्रक्रिया अगाडी बढ्ने सम्भावना देखिँदैन।
हाल कार्यरत आम शिक्षकहरू बढुवाको विज्ञापन कहिले गर्छ भनेर प्रश्न गरिरहेको भए पनि आयोग सँग पनि यो समयमा हुन्छ भनेर दिने जवाफ छैन।