काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका आशिष झालाई फोन गरेर बधाई दिएका छन्। बिहीबार दिउँसो कक्षा चलिरहेका बेला त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका मन्त्री पौडेलले सोही स्कुलका छात्र झालाई फोन गरेका हुन्। फोनमा मन्त्रिले सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण पेस गरेको भन्दै बधाई मात्रै दिएनन् उनको थप शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरूमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
विद्यालयको शैक्षिक अवस्था जानकारी लिन अचानक त्रिपुरेश्वर पुगेका उनले प्रत्येक कक्षामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए। त्यसपछि विद्यालयका शिक्षक तथा कर्मचारीलाई भविष्यका कर्णधार बनाउने काममा गम्भीर भएर लाग्न उनले निर्देशन दिए।
सामुदायिक विद्यालयले पनि गर्न सक्छन् भन्ने उदाहरण बनेकोमा विद्यालयलाई धन्यवाद दिँदै अझै मेहनत गरेर सर्वोत्कृष्ट बनाउन उनले आग्रह गरे। त्यसका लागि मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको उनको भनाइ थियो।
कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा कुल ३ हजार ७ सय विद्यार्थी रहेका छन् । +२ तहमा यहाँ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको पढाइ हुन्छ । यो विद्यालय देशका गनिएका राम्रा सामुदायिक विद्यालयहरू मध्ये एक हो।