Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगको ताल, लगन आइपुग्दा दुलहीविहीन हाल

शिक्षक सेवा आयोगको ताल, लगन आइपुग्दा दुलहीविहीन हाल

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर २३ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले लामो प्रतीक्षा र रस्साकस्सी पछि केही समयअघि आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्‍यो। तिहार लगत्तै विज्ञापन खुल्ने आशामा तयारी गरेकाहरू मङ्सिर महिनामा मात्र खुल्ने भएपछि निराश भएरै भए पनि तयारीमा लागेका छन्। उनीहरूलाई आयोगले यो कार्यतालिकालाई राम्रो सँग पालना गरिदिओस् भन्ने अपेक्षा छ। तर पछिल्ला घटनाक्रम हेर्दा यो कार्यतालिका जस्ताको त्यस्तै कार्यान्वयन हुन्छ भन्नेमा शङ्का उत्पन्न भएको छ। आयोगकै कुरालाई आधार मान्ने हो भने अब उसले खुला विज्ञापन गर्न मात्र ९ दिन बाँकी छ। तर त्यो किसिमको तयारी आयोगको देखिएको छैन।

आयोगको कार्य तालिका अनुसार शिक्षक बढुवाको विज्ञापन सबैभन्दा अगाडि गर्ने योजना छ। तर नियमावलीलाई कारण देखाउँदै त्यो कार्यान्वयन हुन सकेको छैन। यद्यपि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश मार्फत ऐन ल्याएर नयाँ शिक्षक भर्ना प्रक्रिया थालिने हुँदा शिक्षक सेवा आयोगको नियमावली संशोधन नहुने यसअघि नै मात्र एजुकेसनलाई जानकारी गराइसकेका छन्। तर मन्त्रिपरिषद्को बैठकले उक्त काम कहिले गर्छ भन्ने टुङ्गो हुन सकेको छैन।

कार्यतालिकाले मङ्सिर महिनामा विज्ञापन खोल्ने भने पनि आधा महिना बितिसक्दा पनि केही तयारी किन छैन भन्ने मात्र एजुकेसनको प्रश्नमा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले २९ गतेसम्मको समय दिन आग्रह गरेका थिए। उनले २९ गतेसम्म आयोगले विज्ञापन गर्न नसकेमा आफूले मात्र एजुकेसनलाई जवाफ दिने बताएका थिए। सकेसम्म छिटो गर्ने तयारीमा आफूहरू पनि रहेको उनको भनाइ थियो।

तर वास्तविकता हेर्दा एकातिर नीतिगत र प्राविधिक समस्या आउन सक्ने देखिन्छ भने अर्कोतिर आयोगले पनि आफ्नो भूमिका प्रभावकारी बनाउन नसकिरहेको अवस्था छ। यस्तो अवस्थामा कार्यतालिका जस्ताको त्यस्तै कार्यान्वयन हुने सम्भावना कम देखिन्छ। तर पनि आयोगले यही महिनामा खुला र बढुवा विज्ञापन खुल्छ भन्न छोडेको छैन। त्यसैले त हामी भन्छौ, लगन आयो दुलहीको टुङ्गो छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड