Matra Education आइतबार, साउन १० २०८३

९ महिनामा बच्चा जन्मिन्छ, त्रिविको रिजल्ट जन्मिएन

९ महिनामा बच्चा जन्मिन्छ, त्रिविको रिजल्ट जन्मिएन

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर २१ २०७८


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा लिएको लामो समयसम्म पनि नतिजा जारी गर्न सकेको छैन। २०७७ सालको फागुन महिनामा भएको ४ वर्षे बि.बि.एस तेस्रो वर्ष र ४ वर्षे बि.एड तेस्रो वर्षको नतिजा प्रकाशित नभएको हो। परीक्षा दिएको लामो समय बितिसक्दा पनि नतिजा दिन नसकेकाले त्रिविले विद्यार्थीलाई अन्योलमा राखेको र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

त्रिविले यी विषयको चौथो वर्षको परीक्षा तालिका पनि सार्वजनिक गरिसकेको छ। विद्यार्थीले एउटा तहको परीक्षा दिएर अर्को तहको परीक्षा आइसक्दा पनि विश्वविद्यालयले नतिजा दिन नसक्नुले परीक्षा नियन्त्रण कार्यालय के गर्दै छ भन्ने प्रश्न उब्जाएको छ।

यस विषयमा मात्र एजुकेसनले आम विद्यार्थीहरूको गुनासो सम्बन्धित निकायमा राखेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई यो प्रश्न गर्दा उनले राम्रो काम गरेको नदेख्नेले यो आरोप लगाएको बताए। मङ्गलवार मात्र एजुकेसन सँगको विशेष संवादमा उनले नतिजा छिटो दिने चाहना हुँदाहुँदै पनि जनशक्ति अभाव र अन्य विविध समस्याका कारण समयमै दिन नसकिएको बताए। आफूहरूले १०० वटा राम्रो काम गर्दा पनि नदेख्ने तर यही एउटा कमजोरीमा बारम्बार प्रहार गर्ने काम भएको गुनासो समेत उनले गरे। कति समयमा नतिजा प्रकाशित होला त भन्ने मात्र एजुकेसनको अर्को प्रश्नमा उनले बेथा लागेर अस्पताल गएको व्यक्ति कहिले डिस्चार्ज हुन्छ भन्न नसकिए झैँ नतिजा प्रकाशन कहिले हुन्छ भन्ने पनि भन्न नसकिने बताए। आफूले भन्न सक्ने भनेको प्रक्रियामा छ र छिटै हुन्छ भन्ने मात्र भएको उनको भनाइ छ।

९ महिना सम्म एउटा नतिजा समेत दिन नसक्ने र जनशक्ति भएन लगायतका समस्या देखाउने त्रिविको पुरानै रोग भएको र यो जवाफ गैर जिम्मेवार भएको आम शिक्षक विद्यार्थीको धारणा छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड