काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्न सङ्कायको स्नातक चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। विश्वविद्यालयले आइतबार ४ वर्षे बि.एस्सी, बि.बि.एस र बि.एड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार परीक्षा पुसको २० गतेदेखि माग १७ गतेसम्म दिउसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने छ ।
यो परीक्षा तालिका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्काय अन्तर्गत अध्ययनरत चौथो वर्षका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि जारी गरिएको हो ।
यदि परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भए दोब्बर दस्तुर सहित २०७८ मङ्सिर २७ गतेसम्म क्याम्पसमा परीक्षा आवेदन फारम भराई २०७८ मङ्सिर २९ गते भित्र भौचर सहित परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाइ सक्न पनि सूचित गरिएको छ।