काठमाडौँ- तपाईँले पशुपति आर्यघाट भन्ने बित्तिकै लास जलाउने ठाउँ बुझ्नुहुन्छ होला। यो सामान्य पनि हो। तर शनिवार पशुपति आर्यघाटमा अनौठो दृश्य देखिएको छ। करिब १५/२० जना विद्यार्थीहरूको समूहले आर्यघाटमा एउटा कागजलाई लास मानेर जलाएका छन्।
शिक्षा मन्त्रालयले चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूको समस्या समाधानका लागि भन्दै शुक्रवार जारी गरेको विज्ञप्ति आर्यघाटमा जलाइएको हो। असन्तुष्ट विद्यार्थीहरूले यो विज्ञप्ति कर्मकाण्डी मात्रै भएको र आफूहरूको समस्या समाधान गर्नमा कुनै भूमिका नखेल्ने किसिमको भएकाले जलाइएको बताएका छन्। नाम नखुलाउने सर्तमा एक विद्यार्थीले मात्र एजुकेसन सँग भने, ” हामी करिब ७ महिना देखि यस्तै आश्वासन र झुटो भरोसामा बाँचिरहेका छौँ। यदि साँच्चै मन्त्रालय हाम्रो समस्यामा केन्द्रित हुन्थ्यो भने उसले यति समयभित्र पठाउने भनेर विज्ञप्ति निकाल्थ्यो। त्यसो गर्नुको साटो उसले सम्बन्धित संस्थामा अध्ययन गर्न फर्काउन पहल गर्ने मात्रै भन्नु पुनः हामीलाई झुकाउने प्रयत्न हो”। आफूहरू पढेको विश्वविद्यालयले पनि तुरुन्त चिन प्रवेशको अनुमति दिन नसकिने बताइसकेकाले अब कुनै विकल्प नभएको उनको गुनासो छ। यो देशमा सरकार छ र उसले हरेक नागरिकको अभिभावकत्व लिन्छ भन्नु भ्रम मात्र रहेको उनको भनाइ छ।
यसअघि गत बुधवार आफूहरूलाई इन्टर्नसिप गर्न नदिएको भन्दै चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिल अगाडी शान्तिपूर्ण प्रदर्शन गरेका थिए। आफूहरूलाई देशमै इन्टर्नसिप गर्न नदिए आफूहरूको शैक्षिक प्रमाणपत्र र भविष्य नै काउन्सिलले जिम्मा लिनुपर्ने चेतावनी पनि उनीहरूले दिएका थिए । करिब ७ महिना देखि विभिन्न बहाना गर्दै काउन्सिलले दुख दिएको भन्दै उनीहरू निरन्तर आन्दोलित बनेका हुन् । चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरी सैद्धान्तिक विषय सकाएका विद्यार्थीहरू कोरोना महामारीका कारण देश फर्किएका थिए। विश्वले नै अनलाइन कक्षालाई मान्यता दिइरहेको अवस्थामा अनलाइन कक्षा मान्य हुने भने पनि हाल काउन्सिलले कुनै हालतमा अनलाइन बाट गरेको प्रयोगात्मक कक्षा मान्य नहुने बताएपछि यो समस्या उत्पन्न भएको थियो । समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न शिक्षण संस्थाहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्बन्धित विश्वविद्यालयबाटै अध्ययन पुरा गराउन पहल गर्ने निर्णय भएको भन्दै शुक्रवार विज्ञप्ति जारी गरेको थियो।
सरकार, यो गुनासो कसले सुन्छ?
यसैबिच मात्र एजुकेसनले निरन्तर यो विषयमा रिपोर्टिङ र फलोअप गरिरहेको देखेपछि एक डाक्टरले भावुक सन्देश पठाएका छन्। मात्र एजुकेसनको समाचार डेस्कलाई प्राप्त उक्त सन्देशमा चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूको सामूहिक समस्याको प्रतिनिधित्व देखिन्छ। नाम नखुलाउने अनुरोध सहित पठाइएको उक्त सन्देशले उच्च शिक्षा हासिल गरेका डाक्टर त आफ्नो भविष्यप्रति यति असुरक्षित महसुस गर्छन् भने आम युवाहरूको हालत के होला भन्ने प्रश्न उठाएको छ। उनले लेखेका छन् , ” म हारिसकेँ र हामी थाकिसक्यौ। कहाँ पुगिएन? हामी आफ्नो समस्या लिएर सरकारी निकायको हरेक ढोकामा पुग्यौँ । प्रधानमन्त्री कार्यालय पुगियो, मेडिकल सम्बन्धी हरेक संस्थाहरू एन.एम.सी, एम.इ.सी, एम.ओ.इ आदि कुनै बाँकी राखिएन। आफ्नो अधिकार खोज्न जाँदा मलाई गरिएको भिखारीको जस्तो व्यवहार सम्झेर म अझै कति देश भनेर बसौँ? तर पनि अनवरत आफ्नो परिवारले आफ्ना सम्पूर्ण व्यक्तिगत रुचि- चाहना छोडेर, सारा सम्पत्ति बेचेर मलाइ डाक्टर बनाउन गरेको लगानी सम्झेर अझै लडिरहेँ। जग्गा जमिन बेचेर, सारा दुख आफू सहेर मलाई डाक्टर बनेको हेर्न चाहने परिवारको बोझ घटाउन मैले किन नपाउने ? हिजो सरकारले जारी गरेको अर्थहीन विज्ञप्तिले म जस्ता सयौँ पीडितलाई के गर्यो त ? म कुनै मन्त्री प्रधानमन्त्रीको छोरा नभई एउटा किसानको छोरा हुनु नै मेरो गल्ती हो त? म साँच्चै यो दयनीय र बिजोग प्रणाली सँग लड्न अब सक्दिन। म आफैँ भित्र हारिसकेको छु। त्यसैले आजसम्म सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै मैले यो पेसा छोड्ने निर्णय गरे। सतिले सरापेको मुलुक भन्ने सुनेको थिएँ , हो रहेछ। म हारेँ । म हारेँ ।”