काठमाडौँ- आफूहरूलाई इन्टर्नसिप गर्न नदिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूको समस्या समाधान गर्न शिक्षा मन्त्रालयले चासो देखाएको छ। चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूले बुधवार नेपाल मेडिकल काउन्सिल अगाडी शान्तिपूर्ण प्रदर्शन गर्दै आफूहरूलाई देशमै इन्टर्नसिप गर्न नदिए आफूहरूको शैक्षिक प्रमाणपत्र र भविष्य नै काउन्सिलले जिम्मा लिनुपर्ने चेतावनी दिएका थिए । करिब ७ महिना देखि विभिन्न बहाना गर्दै काउन्सिलले दुख दिएको भन्दै उनीहरू निरन्तर आन्दोलित बनेपछि मन्त्रालयले चासो व्यक्त गरेको हो। चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरी सैद्धान्तिक विषय सकाएका विद्यार्थीहरू कोरोना महामारीका कारण देश फर्किएका थिए। विश्वले नै अनलाइन कक्षालाई मान्यता दिइरहेको अवस्थामा अनलाइन कक्षा मान्य हुने भने पनि हाल काउन्सिलले कुनै हालतमा अनलाइन बाट गरेको प्रयोगात्मक कक्षा मान्य नहुने बताएपछि यो समस्या उत्पन्न भएको थियो ।
यो समस्या समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न शिक्षण संस्थाहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्बन्धित विश्वविद्यालयबाटै अध्ययन पुरा गराउन पहल गर्ने भएको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा निर्देशक, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति, तथा डीन, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा रजिस्ट्रार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि तथा मन्त्रालयका सचिव तथा सहसचिव समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन तथा निकासका सम्बन्धमा भएको छलफलमा सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई अध्ययन निरन्तरता दिनका लागि सम्बन्धित सरकार समक्ष उच्चस्तरमा कूटनीतिक पहल गर्ने निर्णय गरेको छ ।
मन्त्रालयद्वारा जारी सूचनामा सम्बन्धित विश्वविद्यालयका नियामक निकायहरू समेतको समन्वय र सहकार्यमा आवश्यकता अनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
