काठमाडौँ – कपिलवस्तुको यशोधरा गाउँपालिका ५, बैदौलीस्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल एवं कार्यालय सहायक असर्फि यादव भ्रस्टचार आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा गएको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा दायर गरेको हो ।
विज्ञान प्रयोगशाला निर्माणका लागि विद्यालयमा प्राप्त रकम फर्जी बिल बनाइ कुनै पनि काम नगरी हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा दोषी पाइएपछि उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो।
उनीहरूले खर्चको आवश्यकता तथा कानुनी प्रावधानलाई नजरअन्दाज गरी विद्यालय कोषबाट रकम निकाली विद्यालय निर्माणमा खर्च नगरी ७ लाख ८२ हजार ६५१ रुपैयाँ हिनामिना खुलेको अख्तियारले उल्लेख गरेको छ।
उनीहरूको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिन आएकोले उक्त कसुरमा संलग्न प्रधानाध्यापक त्रिपाठी र तत्कालीन लेखापाल यादवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।