Matra Education आइतबार, साउन १० २०८३

किन खोल्दैन आयोगले विज्ञापन, कहाँ अड्किएको छ हलो?

किन खोल्दैन आयोगले विज्ञापन, कहाँ अड्किएको छ हलो?

  • मात्र एजुकेशन
  • सोमबार, मंसिर १३ २०७८


काठमाडौँ-  शिक्षक सेवा आयोगले लामो प्रतीक्षा र रस्साकस्सी पछि केही समय अघि आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्‍यो। तिहार लगत्तै विज्ञापन खुल्ने आशामा तयारी गरेकाहरू मङ्सिर महिनामा मात्र खुल्ने भएपछि निराश भएरै भए पनि तयारीमा लागेका छन्। उनीहरूलाई आयोगले यो कार्यतालिकालाई राम्रो सँग पालना गरिदिओस् भन्ने अपेक्षा छ। तर पछिल्ला घटनाक्रम हेर्दा यो कार्यतालिका जस्ताको त्यस्तै कार्यान्वयन हुन्छ भन्नेमा शङ्का उत्पन्न भएको छ।

आयोगको कार्य तालिका अनुसार शिक्षक बढुवाको विज्ञापन सबैभन्दा अगाडि गर्ने योजना छ। तर नियमावलीलाई कारण देखाउँदै त्यो कार्यान्वयन हुन सकेको छैन। यद्यपि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश मार्फत ऐन ल्याएर नयाँ शिक्षक भर्ना प्रक्रिया थालिने हुँदा शिक्षक सेवा आयोगको नियमावली संशोधन नहुने यसअघि नै मात्र एजुकेसनलाई जानकारी गराइसकेका छन्। तर मन्त्रिपरिषद्को बैठकले उक्त काम कहिले गर्छ भन्ने टुङ्गो हुन सकेको छैन।

त्यसबाहेक आयोग आफैँ पनि अलमलमा परेको देखिएको छ। मङ्सिर महिनामा खुला तर्फको विज्ञापन गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ। आयोगले दोस्रो साता सम्म विज्ञापन खुलाउने चर्चा बजारमा थियो। तर पनि आयोग अझै मौन रहेको छ। कार्यतालिकाले मङ्सिर महिनामा विज्ञापन खोल्ने भने पनि आधा महिना बितिसक्दा पनि केही तयारी किन छैन भन्ने मात्र एजुकेसनको प्रश्नमा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले २९ गतेसम्मको समय दिन आग्रह गरे। “२९ गतेसम्म खोल्ने आयोगको तयारी छ, यदि त्यतिबेला सम्म पनि आयोगले विज्ञापन गर्न नसकेमा म मात्र एजुकेसनलाई जवाफ दिउँला । अहिलेका लागि तपाईँहरू धैर्य गर्नुहोस्” उनले भने। सकेसम्म छिटो गर्ने तयारीमा आफूहरू पनि रहेको उनको भनाइ छ।

नीतिगत प्राविधिक समस्या नआएमा आयोगले मङ्सिर २९ गते अघि नै विज्ञापन खोल्ने अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड