काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ईसिडि शिक्षकले पुरा तलब पाउने बताएका छन्। आइतबार प्रेस सेन्टर बागलुङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अन्य शैक्षिक विषयवस्तु सँगै यो प्रसङ्ग उल्लेख गरेका हुन्। बजेटले तोकेअनुसारको तलब शिक्षक कर्मचारीलाई उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। कतिपय स्थानीय तहले अनेक कारण देखाउँदै तलब दिन आनाकानी गरेको भए पनि सरकार कुनै पनि बहाना सुन्ने पक्षमा नरहेको भन्दै सम्बन्धित पक्षलाई विश्वस्त हुनसमेत पौडेलले आग्रह गरे।
त्यसबाहेक कार्यक्रममा मन्त्री पौडेलले १७ थरी शिक्षकका ३७ थरी माग सम्बोधनका लागि समिति गठन गरिएको, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गराएको, शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको लगायतका शैक्षिक योजना तथा उपलब्धिहरू बारे चर्चा गरेका थिए।
आफ्नो प्राथमिकतामा सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन भएकाले आफ्नो कार्यकालमा शिक्षामा परिवर्तन ल्याउने प्रण समेत मन्त्री पौडेलले गरेका छन्। फाइल तस्बिर