Matra Education आइतबार, साउन १० २०८३

एक वर्षे बि.एड बन्द गर्न त्रिविको हास्यास्पद तर्क, अबको बाटो कति सहज ?

एक वर्षे बि.एड बन्द गर्न त्रिविको हास्यास्पद तर्क, अबको बाटो कति सहज ?

  • मात्र एजुकेशन
  • सोमबार, मंसिर ६ २०७८


काठमाडौँ –  त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि सञ्चालित एक वर्षे बि.एड कोर्स अचानक बन्द गरेको छ। कोर्स बन्द भएको समाचार बाहिरिए सँगै बजारमा किन र के का लागि भन्ने बहस पनि सिर्जना भएको छ। विश्वविद्यालयले कोर्स बन्द गर्न दिएको तर्क पनि हास्यास्पद छ। शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले विद्यार्थी परीक्षा हलमा मात्र देखिने भएका कारण कोर्स बन्द गर्नुपरेको बताए। उनका अनुसार विद्यार्थीहरू भर्ना गर्ने बेलामा धेरै हुने, कक्षाकोठामा नदेखिने र एकैचोटि परीक्षा हलमा देखिने ट्रेन्ड चलेपछि विश्वविद्यालय कोर्स नै बन्द गर्न बाध्य भएको हो।

तर बुढाथोकीले दाबी गरेजस्तो विद्यार्थीले घरबाट पढे भनेर कोर्स नै बन्द गर्नुपर्ने कारण देखिँदैन। पछिल्लो समय त्रिभुवन विश्वविद्यालयकै कतिपय कोर्सहरूमा विद्यार्थी सङ्ख्या शून्य नै भएको खबर पनि आइरहेका थिए। यो विषयमा त्यो भएको पनि थिएन। त्यसो त विगतलाई हेर्ने हो भने पनि यो कोर्स आफैँ स्व-अध्ययन गरेर पास गर्ने विद्यार्थीहरूको सङ्ख्या ठुलो थियो। विशेषतः अन्य विषयमा स्नातक गरेकाले आफू तालिमप्राप्त शिक्षक बन्नका लागि यो कोर्स पढ्ने हो। यसको सुरुवात पनि माध्यमिक तहमा तालिमप्राप्त शिक्षक उत्पादन गर्ने उद्देश्यले गरिएको थियो। केही समय अघिसम्म शिक्षक सेवा आयोगको परीक्षा दिन एक वर्षे बि.एड अनिवार्य पनि गराइएको थियो। पछि समय अनुसार नियमहरू परिमार्जन हुँदै जाँदा यो अनिवार्यता हट्दै गयो र यो विषयप्रति आकर्षण पनि कम हुँदै गयो।

एक बर्षे बि.एड पढ्ने विद्यार्थीले परीक्षा पास गरिसकेपछि अनिवार्य अभ्यास शिक्षण गर्नुपर्ने प्रावधान थियो। कोर्स पढेर मात्रै कक्षाकोठाको प्राविधिक ज्ञान नहुने हुँदा यो प्रयोगात्मक पाटो अनिवार्य बनाइएको थियो। विश्वविद्यालयले चाहेको खण्डमा त्यसमा पनि अझै परिष्कृत र उपयुक्त मूल्याङ्कन विधि बनाएर विद्यार्थीलाई वास्तविक ज्ञान दिलाउन सक्थ्यो। तर आफ्नो त्यो कमजोरी सुधार्ने तिर भन्दा पनि उसको ध्यान कोर्स नै बन्द गर्ने तिर गयो।

अबको विकल्प के र कति सम्भव ?
स्रोतले मात्र एजुकेसनलाई बताए अनुसार कोर्सलाई थप व्यवस्थित गरेर सेमेस्टर प्रणालीमा लागू गर्ने योजनामा त्रिवि रहेको छ। त्यसका लागि शिक्षाशास्त्र संकायका सहायक डिन विष्णुप्रसाद खनालको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको छ। यो समितिले अबको कोर्सको कार्यढाँचा तयार पारेर त्रिबिलाइ बुझाउनेछ। सम्भव भएसम्म यही वर्ष बाट सेमेस्टर प्रणालीमा कोर्स लागु गर्ने तयारी भइरहेको छ।

वार्षिक प्रणालीमा विद्यार्थी आएनन् भनेर कोर्स नै बन्द गरेको त्रिविले भनेजस्तो सेमेस्टरमा विद्यार्थी आउँछन् भन्ने छैन। यो कोर्स अन्य कोर्स पढेकालाई शिक्षण पेसामा लगाउनका लागि बनेको सहायक कोर्स भएको हुँदा यसमा सेमेस्टरमा विद्यार्थी झन् घट्ने सम्भावना देखिन्छ। सेमेस्टर प्रणालीमा पढ्नका लागि समय दिने, ८०% भन्दा बढी हाजिर पुर्‍याउने, त्यस अनुरूपकै मूल्याङ्कन प्रणालीमा समावेश हुने गर्नुपर्छ। स्नातक तह पढिसकेका अधिकांश नेपाली विद्यार्थी कुनै न कुनै काममा लागेकै हुन्छन्। त्यसकारण उनीहरूले आफ्नो रोजी रोटीको बाटो छोडेर एक वर्षे बि.एड लाई समय निकाल्ने देखिँदैन। त्यसै पनि नेपाली शिक्षण पेसा सम्मानित बन्न नसक्नु, तलब सुविधा कम हुनु र राजनीतिक प्रभाव बढी हुनुले यो पेसाप्रति नै आकर्षण घट्दो छ। त्यसकारण विद्यार्थी सङ्ख्या नपुगेको भन्दै सेमेस्टर प्रणालीमा कक्षा सुरु गर्नासाथ बन्द गर्न त्रिवि बाध्य नहोला भन्न सकिँदैन।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड