काठमाडौँ – नेपाली नेताहरू बेला बेला आफ्नो बोलीलाई लिएर चर्चामा आउने गरेका छन्। दलकै प्रमुख नेताहरू देशलाई सिंगापुर बनाउने, दुई वर्षभित्र कायापलट गरिदिने, गरिबीको रेखाबाट छोटो समयमै हटाइदिने लगायतका गफहरू अहिले पनि ट्रोल बन्ने गरेका छन्। बोल्दै जाने तर कार्यान्वयन नगर्ने यस्ता भाषण सुनेर नेपाली जनता आजित मात्रै भएका छैनन् उनीहरूको आफ्ना नेताहरू प्रतिको विश्वास पनि हराउँदै गएको छ।
देउवा सरकार बनेपछि करिब साढे २ महिनामा शिक्षा मन्त्रालय सम्हाल्न आइपुगेका देवेन्द्र पौडेल यो सरकारको आस गरिएका मन्त्रीमा पर्छन्। तर यिनले पनि कार्यान्वयन कति सम्भव छ भन्ने हेक्का नराखी विदेशमा गफ दिँदा अहिले आलोचित बनेका छन्।
नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएकोले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताएका छन् ।
‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ’ उनले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेसा, व्यवसाय गर्ने वातावरण बन्दै छ ।’ उक्त अवसरमा उनले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे । मन्त्री पौडेले युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स पुगेका हुन् ।
पौडेल आफूले सञ्चालन गरिरहेको मन्त्रालय भित्रै रोकिएका कामहरू थुप्रै भएको, बेथितिको चाङ रहेको र कोभिड पछिको शिक्षालाई पुरानै लयमा फर्काउनुपर्ने दायित्व राम्ररी पुरा गर्न नसकेको भनेर आलोचना भइरहँदा उनले विदेश गएर देश बनाउने गफ दिएका हुन्। उनले भाषण गर्दै गर्दा पनि अन्तर्राष्ट्रिय उडान भर्ने विमानले देशमा भविष्य नदेखेका नेपाली युवालाई सुन्दर सपना सहित पराइ भूमि ओसारिरहेको थियो।