काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कोरोना महामारी जस्तो जटिल समयमा पनि सिकाइ नरोक्नु नेपालको सफलता भएको बताएका छन्। महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराउँदै उनले महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्त्वका बारेमा सोच्न बाध्य बनाएको बताएका हुन्।
फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औँ महासभालाई सम्बोधन गर्दै कोभिड-१९ महामारीका समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको उनले बताएका हुन्।
शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र महिला सशक्तीकरणजस्ता प्रमुख क्षेत्रमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दिगो विकासका लक्ष्यलाई अपनाएको जानकारी गराए। विकासका प्रयासलाई निर्देशित गर्न सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय नारा बनाएको पनि उनले भनाई थियो।
साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय तहलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रिया तयार गरिसकेको उनले बताए।
महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेण्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको उनले जानकारी गराए। वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ थियो।