काठमाडौँ – केही समय अघि देखि अनिर्णीत बनेको पीसीएल नर्सिङको नयाँ भर्ना अब भने खुल्ने भएको छ। यसअघि केही नीतिगत समस्या रहेको भन्दै सीटीईभीटीले भर्ना खुलाएको थिएन।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्ने निर्णय गरेको हो । निर्णय अनुसार अब एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । यो सँगै बैठकले एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातक तह) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था पनि गरेको छ ।
परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए ।
सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति दिएको छ ।
आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।
सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन् ।
नयाँ व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए करिब एक हजार ५०० जनाले पढ्न पाउनेछन् ।
सय बेडको अस्पताल भएका संस्थामा नर्सिङका लागि पनि छिट्टै प्रवेश परीक्षाको सूचना जारी गरिने सीटीईभीटीका सदस्य सचिव काफ्ले जानकारी दिए ।