काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो काम कहिले सम्पन्न गरेर विज्ञापन खोल्छ भन्ने जिज्ञासा यो क्षेत्र सँग सरोकार राख्ने सबैको छ। यस बिचमा थुप्रै समाचारहरू छिटै खुल्ने भनेर आएको भए पनि शिक्षक विद्यार्थी विश्वस्त हुन सकेका थिएनन्। हिजो बिहीबार आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले कार्यतालिका तयार भएकाले शुक्रवार सम्म आयोगको साइटमा राख्ने गरी तयारी भइरहेको भन्दै ढुक्क हुन आग्रह गरेका थिए। त्यही विषयलाई आधार मान्दै मात्र एजुकेसनले “तयार रहनुस्: आजै आउन सक्छ विज्ञापनको कार्यतालिका” शीर्षकमा समाचार पनि प्रकाशित गरेको थियो। शुक्रवार कार्यालय समय सम्म पनि कार्यतालिका सार्वजनिक नभएपछि आयोगमा बुझ्दा अब आइतबार मात्रै सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।
सामाजिक सञ्जालमा भने आयोगको अकर्मण्यताको सिकार आयोगको तयारी गर्नेहरू भएको भन्दै आलोचना हुन थालेको छ। आयोगले प्रभावकारी काम गर्न नसकेको भन्दै पास भइसकेको कार्यतालिका पनि सार्वजनिक नगर्ने आयोगको नियत ठिक नभएको एक शिक्षकले बताए। तर उनले भनेजस्तो आयोगले केही काम पनि नगरेको भने पक्कै होइन। पदाधिकारी नियुक्त भएर आएपछि रिक्त दरबन्दीको विवरण सङ्कलन गर्ने काम भएको थियो भने शिक्षामन्त्रीको अभावमा लामो समय आयोगको नियमावली संशोधन नहुँदा आयोगले काम गर्न पाएको थिएन।
अब केही पाठ्यक्रम बन्ने क्रममा रहेकाले छिटै त्यो पनि पुरा गरेर आयोगको साइटमा राखिनेछ भने १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मङ्सिरमा गर्ने गरी कार्यतालिका तयार भएको छ ।