काठमाडौँ – झापाको बिर्तामोड नगरपालिकाले बाल शिक्षक र विद्यालय सहयोगीलाई १५ हजार र लेखापाललाई १९ हजार उपलब्ध गराएको छ ।
सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै देशका विभिन्न भागमा आन्दोलन र विरोध भइरहेको समयमा यो उदाहरणीय खबर बाहिर आएको हो ।
सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि देशभरका शिक्षक/ कर्मचारी आन्दोलित भएका हुन् । ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि कतिपय स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ। यसरी देशभर आन्दोलन भइरहँदा केही स्थानीय तहले थपेर पुरा तलब दिएका छन् भने कहिले आंशिक त केहीले पुरै बेवास्ता पनि गरेका छन् । यस्तो अवस्थामा आकर्षक तलब दिएर आफ्नो नगरपालिका धन्यवादको पात्र बनेको विद्यालय कर्मचारी चन्द्र प्रसाईँले बताए।