काठमाडौँ – सर्लाहीस्थित हरिवन नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई थपेर तलब दिएपछि सम्बन्धित शिक्षक र कर्मचारीले मेयरलाई सम्मान गरेका छन् । सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब स्थानीय तहले निकासा नगरेको भन्दै देशका विभिन्न भागमा आन्दोलन र विरोध भइरहेको समयमा यो उदाहरणीय खबर बाहिर आएको हो ।
सरकारले गत जेठ १५ गते घोषणा गरेको ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब सम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि देशभरका शिक्षकर कर्मचारी आन्दोलित भएका हुन् । ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको भए पनि कतिपय स्थानीय पालिकाले बेवास्ता गरेको गुनासो उनीहरूको छ। यसरी देशभर आन्दोलन भइरहँदा केही स्थानीय तहले थपेर पुरा तलब दिएका छन् भने कहिले आंशिक त केहीले पुरै बेवास्ता पनि गरेका छन् । यस्तो अवस्थामा आफ्नो पालिका भित्रका आन्दोलनरत पक्षको माग सम्बोधन गरेका हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईँ सम्मानित भएका हुन्।
मेयर प्रसाईँका अनुसार इसीडी शिक्षक र लेखापाललाई १५ हजार तलब दिइएको छ । नि.मा.वि र मा.वि. का कार्यालय सहयोगीलाई १३ दिइएको छ । प्रा.वि. तहका कार्यालय सहयोगीलाई भने ११ हजार दिएको उनले बताए ।
तलब बढाउने विषयमा हरिवन नगरपालिकासमक्ष इसीडी शिक्षक र विद्यालय कर्मचारीले लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराएका थिए । मेयर प्रसाईँले भने, ‘नेपाल सरकारको सन्देश पुर्याउनका निम्ति पालिकाभित्रको कर्मचारीहरूले अर्थ मन्त्रालयसम्म हाम्रो पिर मर्कालाई पुर्याइदिनुस् भनेर ज्ञापन पत्र दिनुभएको थियो ।’
तलब बढाइदिएपछि शिक्षक र विद्यालय कर्मचारीले आफूहरूलाई सम्मान र सत्कार गरेको मेयर प्रसाईँको भनाइ छ । ‘शिक्षक र कर्मचारीहरूले हामीलाई अत्यन्तै ठुलो सम्मान दिनुभयो । मिठाइ, फूलमाला लिई नगरपालिकामै आएर स्वागत सम्मान गर्नुभयो । हाम्रो भावनालाई जनप्रतिनिधि भएर बुझ्नुभयो । अन्य पालिकाका शिक्षक र कर्मचारीहरूले तलब पाउनुभएको छैन । हामीहरूले तलब पायौँ । राष्ट्रव्यापी रूपमा राम्रो सन्देश पनि जान्छ भनेर उहाँहरूले भन्नु भयो ।उहाँहरूको प्रतिक्रियाले हामीलाई पनि हौसला र जनताको काम गर्न पाउँदा सन्तोषको अनुभूति प्राप्त भयो,’ मेयर प्रसाईँले भने ।
कतिपय पालिकाले शिक्षक र विद्यालय कर्मचारीलाई तलब नदिइरहेको अवस्थामा हरिवनले तलब उपलब्ध गराउँदा सकारात्मक सन्देश गएको छ । तलब उपलब्ध नगराउने मेयरहरूलाई चुनौती थपिएको छ ।