काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टाचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अस्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो ।
भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अस्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् ।
उनले नेपालमा विकास सहायतामार्फत कोभिड महामारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
राजदूत फेलिसिटीले सन् २०२३ सम्म नेपाललाई शैक्षिक क्षेत्रको विकासका लागि १ मिलियन ९१० लाख० अमेरिकन डलर सहयोग गर्ने पनि बताइन् । भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव,सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो । खबर सेन्टर बाट