Matra Education आइतबार, साउन १० २०८३

तिहारअघि नखुल्ने भयो आयोग, कहाँ अड्कियो हलो ?

तिहारअघि नखुल्ने भयो आयोग, कहाँ अड्कियो हलो ?

  • मात्र एजुकेशन
  • आइतबार, कार्तिक १४ २०७८


काठमाडौँ- लामो समयदेखि पदाधिकारीविहीन बनेको शिक्षक सेवा आयोगमा देउवा सरकार आएपछि पाँच वर्षका लागि पदाधिकारी नियुक्त भए । सरकारले आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी तथा सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन लाई नियुक्त गरेपछि अब द्रुत गतिमा आयोगले काम गर्छ भन्ने अपेक्षा गरेकाहरू यति बेला निराश हुन थालेका छन् । ०७४/७५ देखि शिक्षक पदपूर्ति हुन सकेका छैनन् । बढुवाका कामहरू पनि रोकिएका छन् । लाइसेन्सिङका काम ०७६ सालमा भएपछि भएको छैन । यस्तो अवस्थामा यी रोकिएका कामहरू आयोगले कहिले सम्पन्न गर्छ भन्ने जिज्ञासा यो क्षेत्र सँग सरोकार राख्ने सबैको भएपनि यसप्रति आयोग गम्भीर नभएको आरोप सरोकारवालाहरू लगाउँछन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दीको विवरण पठाएपछि प्रक्रिया सुरु हुने बताउँदै आएका आयोगका पदाधिकारीले त्यसपछि नियमावलीलाई बाधक देखाए। शिक्षामन्त्री नियुक्त हुनासाथ आयोगसँगको छलफलमा नियमावली संशोधनका लागि निर्देशन दिए पनि अझै आयोगले आफ्नो प्रक्रिया भने सुरु गर्न सकेको छैन। दसैँ अघि नै लाइसेन्स र विज्ञापन खोल्ने चर्चा थियो। पछि विज्ञापन गरेर मात्र लाइसेन्स परीक्षा गर्ने भन्ने चर्चा चल्यो। मन्त्रीसँगको भेटपछि भने पहिले आन्तरिक बढुवाको विज्ञापन गर्ने, त्यसपछि खुल्ला विज्ञापन र अन्तिममा लाइसेन्सको परीक्षा गर्ने निर्णय भएका बारे समाचार बाहिर आए। यति धेरै हल्ला र जिज्ञासा भइरहँदा पनि आयोग भने गुपचुप रहने प्रयासमा छ। आयोगका अध्यक्षको एक महिना अघि देखिकै जवाफ एउटै छ, “चाडै खुलाउने तयारी गरे पनि कहिले भन्ने टुङ्गो छैन”।

आयोगको तयारी गरिरहेका आम शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरू भने आयोगले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँछन्। अझै पनि करार मै शिक्षक नियुक्त गरेर राजनीतिक स्वार्थ पुरा गर्ने ठाउँका रूपमा विद्यालयलाई प्रयोग गर्ने क्रम जारी रहेकाले यो प्रक्रिया लम्बिएको उनीहरूको आरोप छ।

आयोगका एक उच्च पदस्थ अधिकारीले मात्र एजुकेसनलाई दिएको जानकारी अनुसार तिहार अघि पनि आयोगले विज्ञापन खोल्ने सम्भावना एकदम कम छ। हलो कहाँनेर अड्केको छ त भन्ने मात्र एजुकेसनको प्रश्नमा भने उनले सिधा जवाफ दिएनन्। तिहार सुरु हुन अब एक हप्ता भन्दा पनि कम समय छ। आज सम्मको आयोगको तयारी हेर्दा त्यो सम्भावना नदेखिएको हो। यसरी ढिलो गर्दै जाने हो भने वैशाखअघि नै विद्यालयमा स्थायी शिक्षक पुर्‍याउने आयोगको लक्ष्य दिवास्वप्न नबन्ला भन्न सकिन्न। समयमै ध्यान जाओस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड