काठमाडौँ – बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताए । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययन पश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उनले बताए ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।