Matra Education आइतबार, साउन १० २०८३

शिक्षक नियुक्तिमा गम्भीर लापरबाही, कसरी आउला गुणस्तर?

शिक्षक नियुक्तिमा गम्भीर लापरबाही, कसरी आउला गुणस्तर?

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक ९ २०७८


प्रतीकात्मक तस्बिर

काठमाडौँ- तपाईँ आफ्ना बालबालिकालाई पढाउने शिक्षक कस्ता हुन् भन्ने चाहनुहुन्छ ? पक्कै पनि शिक्षक ऊर्जाशील, विषयमा पोख्त, आकर्षक व्यक्तित्व भएको र बाल मनोविज्ञान बुझ्ने होस् भन्ने सबैको अपेक्षा हुन्छ।  तर काठमाडौँ महानगरपालिकाले भने उमेरले नेटो काटेका शिक्षकलाई नियुक्त गरेर विद्यालय पठाएको छ। महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा अनिवार्य गरेको नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने ४० जना भन्दा बढी यस्ता शिक्षक नियुक्त गरेको पाइएको हो ।

नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकका रूपमा राखेको छ । संविधानको धारा ३१ को उप धारा ९५० मा  ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।’ भन्ने स्पष्ट व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार महानगरपालिकाको ५१ औँ बैठकबाट काठमाडौँ महानगरपालिका अन्तर्गत सबै विद्यालयहरूमा नेपाल भाषा अनिवार्य पढाउनै पर्ने निर्णय गरेको थियो । महानगरले उक्त भाषा शिक्षणका लागि १७२ जना शिक्षकलाई विज्ञापन गरेर नै नियुक्त गरेको हो ।

काठमाडौँ महानगरपालिकाले नियुक्त गरेका यी शिक्षकहरूको नियुक्ति शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत रहेको छ । नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाउने ४० जना भन्दा बढी शिक्षक नियमावली विपरीत नियुक्त गरेको पाइएको हो । नियमावलीले शिक्षक नियुक्तका लागि ४० वर्ष पुरा नभएको हुनुपर्ने प्रावधान राखेको भए पनि सो प्रावधान विपरीत शिक्षक नियुक्त गरेको छ । नियमावलीको परिच्छेद –३ को अध्यापन अनुमति पत्र तथा शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था सम्बन्धी नियम १० को उपनियम (ग) विपरीत महानगरपालिकाले शिक्षक नियुक्त गरेर पठाएको छ ।

महानगरले आफ्नै स्रोतको परिचालन गरेर तलब प्रदान गर्ने गरी नियुक्त गरेका नेपाल भाषाका अधिकांश शिक्षकको उमेर नियमावलीले गरेको व्यवस्था भन्दा फरक रहेको छ । महानगरले ४० जनाभन्दा बढी शिक्षक ५० वर्षभन्दा माथि उमेर भएका नियुक्त भएको अधिकांश विद्यालयले गुनासो गर्दै आएका छन् ।

राम्रा भन्दा हाम्रालाई प्राथमिकता दिने प्रवृत्तिले गर्दा महानगरले अन्यत्रबाट सेवा निवृत्त भएका व्यक्तिलाई शिक्षकको रूपमा नियुक्त गरेर पठाएको अभिभावकको गुनासो छ । अहिले प्रविधिले गर्दा सिकाइको नयाँ उचाइमा पुगिसकेका विद्यार्थीलाई ५० नाघेका बुढा शिक्षकले हात कमाउँदै सिकाएको कसरी बुझ्छन् भन्ने चिन्ता अन्य  शिक्षकहरूमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड