काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ बजेट मार्फत घोषणा भएका शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/७९ सार्वजनिक गरेको छ । सम्पूर्ण शैक्षिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्न सहजीकरण गर्ने उद्देश्यले केन्द्रले यो पुस्तिका तयार गरेको हो ।
प्रारम्भिक बालविकास केन्द्रका शिक्षक र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार रुपैयाँ न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने, दिवा खाजा, शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान, सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा, वैकल्पिक शिक्षण सिकाइ कार्य योजनाको प्रभावकारी कार्यान्वयन, हिमाली जिल्लामा माध्यमिक तहका आवासीय विद्यालय सञ्चालन, सार्वजनिक विद्यालयमा कक्षा नौसम्म अध्ययन गर्ने बालबालिकालाई रङ्गिन पाठ्यपुस्तक, दृष्टिविहीन बालबालिकालाई ब्रेल पाठ्यपुस्तक लगायतका कार्यक्रम समेटिएको छ ।
‘बालविकास सहजकर्ताको पारिश्रमिक वितरण गर्नु पूर्व स्थानीय तहका लागि स्वीकृत कोटा र स्थानीय तहको आफ्नै स्रोतबाट सञ्चालनको अनुमति प्राप्त बालविकास केन्द्रको छुट्टाछुट्टै अभिलेख तयार गरी यस क्रियाकलापमा विनियोजित रकमबाट सङ्घीय सरकारबाट स्रोत व्यवस्थापन हुने विद्यालयगत बालविकास केन्द्र सङ्ख्या यकिन गरी स्थानीय तहले विद्यालय र विद्यालयसँग मातृ सम्बन्ध स्थापना गरी सञ्चालनमा रहेका प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरूको पारिश्रमिक प्रतिमहिना ८ हजारका दरले चाडपर्व खर्चसहित १३ महिनाको हुन आउने रकम विद्यालयको खातामा दिने । बजेट वक्तव्यमा उल्लेख भए बमोजिम नेपाल सरकारले निर्धारण गरे बमोजिमको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउँदा थप गर्नुपर्ने । रकम सम्बन्धित स्थानीय तहले व्यहोर्ने उल्लेख भएकोले सो अनुसार व्यवस्था मिलाउने,’कार्यान्वयन पुस्तिकामा भनिएको छ ।