काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरुसँग भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिएका हुन्।
यसअघि एक वर्षसम्म पदाधिकारी विहीन भएको आयोग पदाधिकारी नियुक्त हुने बित्तिकै वार्षिक कार्यतालिका बनाउन जुटेको थियो । नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको थियो । मन्त्रालयले ग्रिन सिग्नल दिने बित्तिकै आयोग शिक्षक छनोटका लागि खुला तथा आन्तरिक बढुवाको विज्ञापन गर्ने सम्पूर्ण तयारी गरेर बसेको अवस्था थियो।
मन्त्रि पौडेलले आजको निर्णयको उक्त जानकारीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन्। अब आयोगलाई आफ्नो काम गर्न बाटो खुलेको छ। यो सँगै अब छिटै खुला विज्ञापन र लाइसेन्सको फारम खुल्ने अपेक्षा गर्न सकिन्छ।